कृष्णपुरमा प्लास्टिकका माला बिक्री–वितरण गर्न प्रतिबन्ध

कञ्चनपुर : तिहारका वेला प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लास्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री–वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

अटेर गरेर प्लास्टिकबाट बनेका माला बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ छ । ‘घर–आँगनमै उत्पादन हुने मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा रोक लगाएका छौँ,’ नगरप्रमुख ओझाले भने, ‘यस कार्यबाट फूलको व्यावसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुँदैन ।’

उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक खेतीमा संलग्न गराइएको छ । प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका कृष्णपुर बनेको छ। फूलको व्यावसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.