इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र

जाजरकोट : जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।

पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।

उनका अनुसार अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिन यस यन्त्रले सघाउने उनले बताए। अधिकारीले भने, “यसले यहाँको भूकम्पको वास्तविक केन्द्रबिन्दु पत्ता लगाउँछ, अनि भूकम्पको कम्पनको मान कति हो भन्ने पनि पत्ता लगाउँछ ।” अन्यत्रको यन्त्रका भरमा अहिले इपिसेन्टर रामीडाँडा तोकिएको छ । अझ त्योभन्दा नजिकको इपिसेन्टरको तय पनि यस यन्त्रले गर्ने छ ।

रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ । त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको जनाइएको छ । स्टेसनहरू वरिपरि छन् र बिचमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.