सुदूरपश्चिम प्रदेशस्तरीय गौरवका आयोजना अलपत्र

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ ।
सडक र मोटरेबल पुलको निर्माण कार्य अलपत्र पर्दा यहाँका स्थानीयले अनावश्यक सास्ती भोग्दै आएका छन् । ऐतिहासिक त्रिवेणीधाम, डिलासैनी मन्दिर र राताशिला क्षेत्र ओझेलमा परेका छन् ।
पुर्चौडी नगरपालिकामा प्रदेश गौरवका आयोजनासँगै स्थानीय सरकाले निर्माण सुरु गरेको १५ शय्याको अस्पताल र बृहत् खानेपानी योजनासमेत अलपत्र पर्दा करिब ४० हजार बासिन्दा सडक यातायात, स्वास्थ्य र खानेपानीबाट वञ्चित भएका छन् । पुर्चौडीको विकासका लागि सडकतर्फ ६९ करोड र मोटरेबल पुलका लागि चार करोड ७० लाख रुपियाँ बजेट भए पनि ठेकेदार र पूर्वाधार विकास कार्यालयको लापरबाहीका कारण विकासे योजना अलपत्र परेको गुनासो स्थानीयवासीको छ ।

पुर्चौडी नगरपालिका–१, खडीखेतस्थित जमाडी नदीमा पुल निर्माण गर्न सङ्घीय सरकारले २०७६ सालमा करिब पाँच करोड बजेट पठाए पनि चार वर्षदेखि पुल निर्माणको काम अलपत्र छ । अलपत्र छाडिएको पुलको पिल्लरमा प्रयोग भएका छडमा खिया लागेको छ ।

आर्थिक वर्ष २०७६र७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुलको जग खडा गरेर अलपत्र छाडिएको छ । सङ्घीय ससर्त अनुदान अन्तर्गत पुल निर्माण गर्न चार करोड ७० लाख रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालयले हेर्ने जिम्मेवारी पाएको थियो । प्राविधिक र ठेकेदारको लापरबाहीले राज्यको करोडौँ रकम जमाडी नदीमा बगेको स्थानीय लोकेश साउदले बताउनुभयो । सडक स्तरोन्नतिका लागि ६९ करोड रुपियाँ र पुल निर्माणका लागि चार करोड ७० लाख रुपियाँ वजेट सदुयोग हुन सकेको छैन ।

उक्त आयोजनाको साइट हेर्ने जिम्मेवारी पाएका पूर्वाधार विकास कार्यालयका प्राविधिक नरेश भुलले सडक र पुलको काम छिट्टै अघि बढ्ने दाबी गरे। विविध कारणले ढिलासुस्ती भए पनि केही दिनमै मोटरेबल पुलको बेसलाइन सर्भे हुने जानकारी उनले दिए । प्रदेश गौरवको आयोजनामा समेटिएको सडक र पुल पुर्चौडी नगरपालिकाको लाइफलाइन हो । प्रदेशस्तरीय गौरवको आयोजना सडकले प्रदेश राजधानी र जिल्ला सदरमुकाम जोड्ने छ । छ वर्षअघि नै निर्माण सुरु भएको सडक र पुल अलपत्र पर्दा स्थानीय खिन्न भएका छन् । बाढीपहिरो वा प्राकृतिक विपत्का बेला कच्ची सडकसमेत ठप्प हुने गरेको छ । बर्सातका बेला नदीको जलसतह बढ्दा आकस्मिक रूपमा चल्ने एम्बुलेन्स र सवारीसाधन ठप्प हुने गरेका छन् ।

लामो समयदेखि सडक र पुल निर्माणको माग उठे पनि पूर्वाधार विकास कार्यालय र ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र परेको पुर्चौडीका स्थानीय हरिश साउदले गुनासो गरे । कार्यस्थलमा गौरवका आयोजनाको होर्डिङ बोर्डसमेत नहुँदा स्थानीयवासी अन्योलमा परेको उनले गुनासो गरे। राज्यको करोडौँ रकममा निर्माण भइरहेका विकासे आयोजना वर्षौंदेखि अलपत्र भए पनि जिम्मेवार निकायले सार्वजनिक सुनुवाइ गर्न आनाकानी गर्दै आएका छन् । पाटन–पञ्चेश्वर सडकखण्डको कामसमेत गुणस्तरीय नभएको पाइएको छ ।

सडक पूर्वाधार, अस्पताल र शिक्षाका भवन निर्माणमा ढिलासुस्तीसँगै कमसल सामग्रीको प्रयोग हुने गरेको सामाजिक अगुवा महेशदत्त भट्टले बताउनुभयो । पुर्चौडी नगरपालिकामा प्रदेशस्तरीय गौरव आयोजनाको सडक र पुल निर्माण गर्न न बजेट अभाव छ न त प्राविधिक जनशक्ति तैपनि वर्षौंदेखि विकासको काम अलपत्र पर्दासमेत सरोकारवाला निकाय मौन बसेको स्थानीयको अरोप छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.