अत्तरिया : जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले नयाँ शैक्षिक सत्र २०८१ का पाठ्यपुस्तक विक्री वितरण शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द सुदूरपश्चिम प्रदेश कार्यालयले मंगलबार बाजुराका व्यवसायीलाई पाठ्यपुस्तक बिक्री वितरण गरी नयाँ शैक्षिक सत्र २०८१ को शुरुवात गरेको हो ।
बाजुराका व्यापारीले बुधबार चैत १४ गतेपनि जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक लिन सक्नेछन । त्यस्तै चैत्र १५ र १६ गते दार्चला ,१७ गते बझाङ्ग,१८ गते बैतडी ,१९ गते अछाम,२० गते डोटी, २१ गते डडेल्धुरा ,२२,२३ र २४ गते कञ्चनपुर र चैत्र २५,२६ र २७ गते कैलालीका व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट पाठ्यपुस्तक लिन पाउने कार्यालय प्रमुख रामबहादुर कुँवरले बताए ।
मंगलबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका पदाधिकारीहरुको उपस्थितिमा जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालयमा पुस्तक वितरणलाई कसरी सहज बनाउन सकिन्छ भनेर छलफल भएको थियो । छलफलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष श्याम पाठक,सचिव निलम राज जोशी,सह सचिव डिल्लीराज ओझा कैलालीका वरिष्ठ उपाध्यक्ष नरबहादुर नेगी, सचिव निम मिश्र जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख रामबहादुर कुँवर लगायतको उपस्थितिमा पुस्तक वितरणमा अघिल्ला वर्षहरुमा देखा परेको समस्यालाई दोहोरिन नदिन व्यापक छलफल भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष श्याम पाठकले बताए । अध्यक्ष पाठकले कैलाली,कञ्चनपुर र पहाडका ७ जिल्लाका व्यापारी साथीहरुलाई जनक शिक्षा सामाग्री केन्दसँग समन्वय गरेर पुस्तक वितरणमा सहजीकरण गरिरहेको बताए ।
त्यस्तै जनक शिक्षा सामग्री केन्द सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख रामबहादुर कुँवरले आफूपनि सुदूरपश्चिमेली भएको हुँदा यहाँको भुगोल र व्यापारी साथीहरुको अवस्था बुझेको भन्दै रातदिन खटेर पनि पाठ्यपुस्तक वितरणलाई सजिलो बनाउने बताए । उनले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि र जिल्ला अध्यक्षहरुसँग पनि निरन्तर छलफलमा रहेको भन्दै यसपटक विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने बताए । कार्यालय प्रमुख कुँवरले गोदाम सानो भएकोले चाहिने जति पाठ्यपुस्तक जम्मा गर्न नसकेपनि ७० प्रतिशत पाठ्यपुस्तक आइपुगेको बताए । उनले पहिलो चरणमा पाठ्यपुस्तक बजारमा जाने बित्तिकै दोश्रो चरणमा तुरुन्तै पाठ्यपुस्तक धनगढी आइपुग्ने बताए ।