Agni Offset Press

पूर्वाधार नहुँदा ओझेलमा गोदावरी नगरको नायल ताल

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १२ मा पर्ने धार्मीक तथा पर्यटकीय क्षेत्र नायल ताल पूर्वाधार अभावका कारण ओझेलमा परेको छ । अत्तरिया बजारबाट झण्डै २८ किलोमिटरको दुरीमा रहेको नायल ताल सडक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको हो ।
पर्यटनको प्रशस्त सम्भावना बोकेको नायल तालसम्म पुग्न कैलालीको मालाखेती तथा कञ्चनपुरको वाणीबाट सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन सकेको छैन । विकासको मेरुदण्ड नै सडक भएकाले नायलसम्म सडक पूर्वाधार विकास गर्नुपर्ने स्थानीयको माग छ ।
स्थानीयका अनुसार ताल वरीपरी नालाको व्यवस्था नहुँदा डाँडाबाट आउने पानीले ताल पुरिने जोखिम उत्तिकै रहेको छ । नायलका स्थानीय थान बहादुर खत्रीले वर्षाको समयमा चारैतिरबाट आउने पानीले तालको अस्तित्व संकटमा रहेको बताए । ‘चारैतिर डाँडा छ, बीचमा ताल छ, उनले भने, वर्षायाममा डाँडाबाट आउने पानीले ताल पुरिने हो की भन्ने डर छ ।’
उत्त समस्या समाधानका लागि ताल वरिपरि नाला तथा आरसिसी सहितको बाध बनाउनुपर्ने उनको भनाई छ । तालको अस्तित्व जोगाउन तीनै तहका सरकारको चासो हुन आवश्यक रहेको उनले बताए ।
त्यस्तै स्थानीय पदमबहादुर खत्रीले सानो सानो बजेट पटक–पटक हाल्नुभन्दा पनि एकै पटक पुर्ण काम हुनेगरी बजेटको व्यवस्था गर्नुपर्ने बताए । दुईतीन चोटी सानो सानो बजेट आएको तर उत्त बजेटले पुर्ण काम हुन नसक्दा बालुवामा पानी सरह भएको उनले बताए ।
नायलसम्म पुग्न बाटोको मुख्य समस्या रहेको भन्दै उनले भने, तालको कुरा त परै छ,वर्षा लागेपछी हामी नायल बासीलाई कालो दिन सुरु हुन्छ, बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्याउनुपर्छ, त्यसैले सबैभन्दा पहिले नायलसम्म पुग्ने बाटो मर्मत गर्नुपर्यो ।’
स्थानीय हरिदत्त जोशीले नायल ताललाई राज्यले नै विकट बनाई दिएको गुनासो गरे । नायल तालमा पर्यटनको अथाह सम्भावना भएर पनि ओझेलमा परेको उनले दुखेसो गरे ।
नायलताललाई संरक्षण गरी, प्रचारप्रसार गर्न सकेमा देशकै नमुना पर्यटन क्षेत्र बन्ने विश्वास व्यत्त गर्दै उनले भने, पूर्वदेखि पश्चिम सम्म हेर्नुस्, चुरे पहाडको टाकुरामा रहेको एक मात्र ताल यही हो ।’ नायल तालको धार्मीक महिमा पनि उत्तिकै रहेको स्थानीयहरु बताउँछन् ।
यस ताल क्षेत्रमा घण्टेश्वर, सिद्ध, भगवती, नवदुर्गा,नन्नरी,दोगटी लगायतका देवी देवताको बास भएकाले यसलाई धार्मिक पर्यटन सँग जोडेर विकास गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै वडा नम्बर–१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले वडाको बजेटले मात्रै नायलसम्म पुग्ने बाटो तथा तालको संरक्षण सम्भव नरहेको बताए ।
डाँडाबाट आएको पानीले पुरीएर तालको अस्तित्व नै मेटिने खतरा रहेको उनले बताए । सङ्घीय सरकारबाट तालको बाध निर्माणका लागि सामान्य बजेट आए पनि प्रदेश सरकारको बजेट भने हालसम्म शून्य रहेको उनले बताए । हिउँदको समयमा कच्ची सडकमा आवतजावत गर्न मिलेपनि वर्षा सुरु भएपछी नायल बासी सडक सुविधाबाट समेत वञ्चित रहन्छन् । नायलसम्म पुग्न पक्की सडक निर्माण गरी यहाँको विविधताबाट राज्यले फाइदा लिनुपर्ने नायल बासीको भनाई छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.