Agni Offset Press

कर्णालीमा बेपत्ता शाहीको विहानदेखि खोजी कार्य जारी

Aarati simant

अत्तरिया : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक पदार्थ सेवन गरेका १७ जना युवाले पुलबाट हामफालेको बताइन्छ । उनीहरू पाइन्ट र जुत्तासहित नदीमा हामफालेका थिए । आज बुधबार विहानदेखि खोजी कार्य जारी राखेको हो ।
लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीका अनुसार सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय युवाको समूहले तीन वटा ¥याफ्टिङ, डुङ्गा प्रयोग गरेर बेपत्ता शाहीको बिहानदेखि नै खोजी जारी राखेको छ । चिसापानी बजारमा तरकारी पसल गरेर परिवारसँग बस्दै आएका शाही साथीभाइको लहलहैमा सोमबार कर्णाली पुलबाट हामफाल्न पुगेका थिए ।
कञ्चनपुर बेलौरीबाट बुवाआमासँगै आएका लोकेन्द्रले तीन वर्ष विदेशमा बसेको कमाइले नेपालमै केही गर्नु पर्छ भन्दै तरकारी व्यवसाय सुरु गरेको बताइन्छ । छिमेकी पार्वती गुरुङका अनुसार चिसापानी, लम्कीका साथीभाइ आफन्त जम्मा भएर होली खेल्ने, खानपिन गर्ने रमाइलो गर्दै थिए । तीमध्ये धेरै नदीमा पौडिन पोख्त नै हुन । सबै जोसिएर पुलबाट हामफालेछन् ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार दिउँसो नै मदिरामा लट्ठिएका एक हुल युवा बाटोमा नाचगान गर्दै होहल्ला गरेपछि प्रहरीले हटाएको थियो । तीनै युवा गाउँतिर गएर दिनभर फागु खेलेपछि साँझ पुलबाट हामफालेर कर्णाली नदीमा नुहाउने उद्देश्यसहित जाँदै गर्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

प्रहरी निरीक्षक डाँगीले हामफाली पौडिएर निस्केका युवालाई खोजी सोधपुछ गर्ने कार्य भइरहेको बताए । हामफाल्ने युवा २० देखि ३० वर्षसम्मका रहेको र सबै कर्णाली नदीमा पौडिने गरेको जनाइएको छ । उनले कर्णाली पुललाई सुरक्षाको दृष्टिकोणले निगरानी राख्न आफूले समेत पहल गर्ने बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.