अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा प्रहरीमा हाजिर भएका छन् ।
संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटमा नाम मुछिएपछी दुवैजना सम्पर्कमा आएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले उनीहरु दुवैजना आज स्वएच्छिक जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएको बताए । प्रहरीले घटना को अनुसन्धान गर्न उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भए पछि उनीहरु फरार रहंदै आएका थिए ।
महोत्सव जारी रहँदा संघ कै पदाधिकारीले झन्डै २५ बढी नक्कली ठेली बरामद गरेका थिए । संघले नै दिएको किटानी जाहेरी अनुरुप प्रहरीले हिरासतमा लिएर संघका महासचिव शंकर खड्का, सचिव दिलिप कुमार साउँद , कार्य समिति सदस्य बमबहादुर बोगटी लगायत अन्य को बयान लिइसकेको छ ।
उनीहरु केही दिन अघि हाजिर जवानीमा छुटेका छन् । नक्कली टिकट सरकार को ल्याब प्रयोगशालाले पनि पुष्टि गरिसकेको छ । घटना को अनुसन्धान जारी नै रहेको कैलाली प्रहरीले जनाएको छ ।