Agni Offset Press

नागरिक उन्मुक्ति पार्टीमा विवाद : रञ्जिताको निर्देशन सुदूरपश्चिम सांसदले मानेनन्

Aarati simant

अत्तरिया : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयन गराउने चुनौती छ।

नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको अडानले रञ्जितालाई निर्णय कार्यान्वयन गराउन सकस छ। यसअघि नै सुदूरपश्चिममा सामेल नाउपाका मन्त्रीलाई बाहिरिएर समर्थन फिर्ता लिन निर्देशन दिइसकेकी रञ्जिताको निर्देशनको अवज्ञा हुँदै आएको छ।

रञ्जिताको निर्देशनविपरित रेशमको जोडबलमा कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा नाउपाका ७ सांसदमध्ये १ राज्यमन्त्रीसहित ५ जना मन्त्री सामेल छन्। कैलालीको टीकापुरमा बुधबार बसेको नागरिक उन्मुक्ति पाटीको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। प्रदेशदेखि संघसम्म नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

नागरिक उन्मुक्ति पार्टीमा २१ संस्थापक केन्द्रीय सदस्य छन्। तीमध्ये १२ जना मात्रै बैठकमा सहभागी थिए। यस्तै, सुदूरपश्चिम प्रदेश सभामा रहेका ७ सांसदमध्ये पूर्वराज्यमन्त्री कैलाश चौधरी, बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी बैठकमा सहभागी थिए।

सरकारमा सामेल अन्य ४ जना मन्त्री भने रञ्जिताले बोलाएको छलफलमा सहभागी भएनन्। रेशम जापान भ्रमणमा भएका बेला सक्रियता बढाएर रञ्जिताले नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गराएकी हुन। नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलले भने रञ्जिताको निर्णय नमान्ने बताएको छ।

रेशम पक्षले बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकलाई अल्पमतको निर्णय भनेको छ। संरक्षक रेशम स्वदेश फिर्ता भएपछि छलफल गरेर अघि बढ्ने उनीहरुको भनाइ छ। रञ्जिताको निर्णयलगत्तै रेशमको आड पाइरहेको नाउपाको संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकार समर्थन फिर्ता नहुने बताएपछि रञ्जिताको निर्णय कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको हो।

फागुन २१ मा सत्ता गठबन्धन फेरबदल भएसँगै निर्वाचन आयोगले अध्यक्षमा मान्यता नदिएपछि चिढिएका नाउपाका संरक्षक रेशम कांग्रेससंग सहयात्रा गर्ने पक्षमा छन्। गठबन्धनमा सामेल हुने विषयमा श्रीमान श्रीमती समेत रहेका रेशम र रञ्जिताबीच नाउपाभित्र तीव्र मतभेद छ। रञ्जिताको विरुद्धमा रेशम समानान्तर गतिविधि नै चलाइरहेका छन्। निर्वाचन आयोगले अध्यक्षमा पुनःस्थापित गरेपछि रञ्जिताले केन्द्रीय फागुन २८ मा संस्थापक केन्द्रीय सदस्यको बैठक डाकेकी थिइन्। कैलालीको टीकापुरमा बस्ने भनिएको उक्त बैठकमा रञ्जिता आफै उपस्थित भइनन्।

वरिष्ठ उपाध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको संस्थापक केन्द्रीय सदस्यको उक्त बैठकले नयाँ सत्ता गठबन्धनको बैठकमा सामेल नहुने निर्णय गरेको थियो। त्यसको विपरित अर्को दिन रञ्जिताले सांसदलाई ह्विप जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन लगाएकी थिइन्। रेशम र रञ्जिताको मतभेदले नाउपाभित्र विवाद गहिरिदै गएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.