
अत्तरिया : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छन् । आपराधिक लाभ लिएको कसुरमा बुधबार पक्राउ परेकी बममाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताएका छन् ।
अनेरास्ववियुले प्रहरी अनुसन्धानलाई निष्पक्ष रूपमा सहयोग गर्ने भन्दै स्थायी कमिटी सदस्य बमलाई निलम्बन पनि गरेको छ । बिहीबार अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी बमलाई निलम्बन गरेको बताएका छन् ।
दार्चुला स्थायी घर भएकी बम अनेरास्ववियुको केन्द्रीय सदस्यहुँदै स्थायी कमिटी सदस्य बनेकी हुन् । एमाले–माओवादीबीच पार्टी एकतापछि अनेरास्ववियुका अध्यक्ष बनेका ऐन महरले बमलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
एमाले र माओवादीबीचको एकता भंग भएपछि अनेरास्ववियु पूर्ववत् अवस्थामै फर्किएको थियो । त्यसपछि अध्यक्ष महरले बमलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि भएको अनेरास्ववियुको अधिवेशनबाट बम भूगोलतर्फबाट स्थायी कमिटी सदस्यमा निर्वाचित भएकी हुन् ।
किन पक्राउ परिन् बम ?
आफ्नो मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभ लिएको भन्दै बझाङकी रश्मिला धामीले बमविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएकी थिइन् । धामीले दिएको जाहेरीकै आधारमा बमलाई प्रहरीले ओशो तपोवनबाट पक्राउ गरी अनुसन्धान थालेको छ । बमले आफ्नो मोबाइल खोसेर गोप्य कागजात लिएर उल्टै आफूसँग ५ लाख रुपैयाँ मागेको भन्दै धामीले जाहेरी दिएकी थिइन् ।
बम पक्राउ प्रकरण अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका एमाले केन्द्रीय सदस्य ऐन महरसँग जोडिएको छ । एमाले केन्द्रीय सदस्य महर र धामीबीचको अडियो संवाद गत मंसिरमा बाहिरिएको थियो । उक्त अडियो सार्वजनिक हुनुअघि महरले प्रमाण नष्ट गर्न नेतृ बमलाई खटाएको धामीले नै आरोप लगाएकी थिइन् ।
मोबाइलमा रहेको अडियो संवाद नष्ट गर्ने योजनाका साथ बमले मोबाइल खोस्न खोजेको धामीले बताएकी थिइन् । महरलाई दाइ भन्ने बमले धामीसँगको सम्बन्ध बाहिरिनुअघि नै घटना सामसुम पार्न खोजेकी थिइन् । मोबाइल खोसेर प्रमाण नष्ट गर्ने योजनाअनुसार नै आफूलाई बमले ठमेलमा रहेको एलओडी क्लबमा लगेको र मोबाइल खोसेको धामीले आरोप लगाएकी थिइन् ।
बमले धामीको मोबाइल खोस्नुका पछाडि नेता महरसँगका फोटो, भिडियो र अडियो संवाद नष्ट गर्ने योजना थियो । यही विषयलाई लिएर आफ्नो बेइज्जत गरेको भन्दै बमले धामीविरुद्ध १९ मंसिरमा जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले धामीलाई दोषी ठहर गरेको थियो । अदालतले धामीलाई सात दिनको कैद सजाय सुनाएको छ । तर, उक्त आदेशविरुद्ध आफू उच्च अदालतमा जाने धामीले बताएकी छन् ।
धामीसँगको अडियो संवादपछि विवादमा तानिएका महरले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । तर, पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारीका साथ काम गर्ने प्रतिबद्धता जनाएपछि ११ चैतमा एमालेले महरलाई फेरि केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । एमाले सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बताएका थिए ।
‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो । तर, पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारीका साथ काम गर्ने प्रतिबद्धता गर्नुभएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय बैठकले गरेको छ,’ ज्ञवालीले भनेका थिए ।
रक्षा बम निलम्बित
रक्षा बमलाई निलम्बन गरिएको छ । आपराधिक लाभ लिएको अभियोगमा प्रहरी हिरासतमा रहेकी संगठनको स्थायी कमिटी सदस्य बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो । संगठनका अध्यक्ष समिक बडालले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।
‘अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम उपर परेको उजुरीमा प्रहरी अनुसन्धान भइरहेको भन्ने समाचार प्रकाशित भएकोमा उक्त प्रक्रियामा निष्पक्ष अनुसन्धानको गर्न नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने र उनको चरित्र हत्या गर्ने कार्य भइरहकाप्रति संगठनको ध्यानाकर्षण भएका विज्ञप्तिमा उल्लेख छ । ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौं,’ अध्यक्ष बडालले भनेका छन् । बमलाई आपराधिक लाभ लिएको उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
