अत्तरिया : गोदावरी नगरपालिकामा सेनाले भोगाधिकार लिएको जग्गाप्रति असन्तुष्टि जनाउँदै स्थानीय राजनीतिक दल र नागरिकहरु एक ठाउँमा आएका छन् ।
शनिबार विभिन्न राजनीतिक दलहरु र नागरिक समाजले अन्तरक्रिया गरेको छ । शनिवार अत्तरियामा ६१ घर परिवारका सदस्यको उपस्थितिमा राजनीतिक दलका नेतहरु तथा पत्रकारको सहभागितामा विचार गोष्ठीको आयोजना गरिएको हो ।
नेपाल सेनाले अत्तरिया बसपार्क त्यहाँ रहेका ६१ घरधुरी सहितको क्षेत्र आफ्नो भोगाधिकारमा राखेको भन्दै कार्यक्रममा सहभागीहरूले आक्रोश व्यक्त गरे । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरियाको विकासमा सेना बाधक बन्न नहुने जिकिर गरे । उनले सेनाको व्यवहार पनि दोहोरो देखिन थालेको बताए ।
उनले भने, ‘हामी सँग भेटका क्रममा सेनाका अफिसरहरूले एउटा कुरा गर्ने तर निर्णय आफ्नै तरिकाले गर्न थालेका छन् । ६१ घर परिवारलाई हामी लालपुर्जा दिने तयारीमा छौँ । तर, सेनाले भूमि आयोगलाई पत्र पठाएर त्यो जग्गा आफ्नो भएकाले नापीको काम अगाडि नबढाउन पत्र समेत पठाइसकेको रहेछ । त्यसैले हामी झस्किएका छौँ,’ । नगरप्रमुख भट्टले सेना यो निर्णयबाट पछि नहटे पहिलो गोली खान आफू तयार रहेको समेत चेतावनी दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति वसन्त रोकायाले सेनाको कदम विरुद्ध जनता सडकमा आउनुपर्ने स्थिति बन्न नदिन सरकार सचेत बन्नुपर्ने बताए । उनले बसपार्क निर्माणमा धेरै लगानी भइसकेकाले यसमा सेना अवरोध बन्न नहुने बताए ।
कार्यक्रममा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले २०६१ सालमा तत्कालिन शाही सरकारको पालामा भएको निर्णयहरू संविधान सभाको पहिलो बैठकले नै खारेज गरिसकेकोले अहिले आएर सेनाले यो जग्गा हाम्रो हो भन्नू गैर कानुनी हुने बताए । उनले सेना प्रहरी कै कारण यस क्षेत्रका जनप्रतिनिधिले सोचे जस्तो विकास निर्माण को कार्य गर्न नसकेको दुखेसो पोखे । यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले बसपार्क र यहाँका ६१ घर परिवार हटाएर सेनाले आफ्नो संरचना बनाउने कार्यका विरुद्ध सबै एक हुनुपर्ने बताए । बसपार्क निर्माणको मुख्य अगुवाइ गरेका भट्टले विकास निर्माणका कार्यमा अहिलेका जनप्रतिनिधि सँग हातेमालो गरेर अघि बढ्ने उद्घोष समेत गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका नेता मेघराज भट्टले पनि सेना प्रहरीले यहाँको बजारीकरणमा अवरोध गर्न नहुने बताए । उनले भने, सेना प्रहरी मात्रै बजारमा बस्ने हो । बजार किन चाहियो ? कि त बजारको विकल्प दिनुप¥यो होइन भने १० वर्ष अघिको निर्णय अहिले आएर कार्यान्वयन गर्छौ भन्न पाइँदैन ।’ नगरपालिकाको नेतृत्वको कदमलाई सबैले साथ दिए मात्रै यो मुद्दामा दबाब पुग्ने उनले बताए ।
कार्यक्रम बोल्ने अधिकांश वक्ताहरूले सेनाका कदम विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका थिए । कार्यक्रममा ६१ परिवारको तर्फबाट पनि घरधनीहरूले आ–आफ्नो धारणा राखेका थिए । उनीहरूले सेनाको नेतृत्व अनुसार फरक–फरक निर्णय आउने गरेको गुनासो गरेका छन् ।
कार्यक्रममा अत्तरिया खाने पानीका अध्यक्ष टिकादत्त जोशी, काँग्रेसका नगर सभापति वीरबहादुर चोखाल, युवा नेता हरि भट्टराई, वडा नम्बर १ का वडाध्यक्ष गोपालदत्त भट्ट, वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थी, स्थानीय रुपेश बिक लगायतले आफ्नो धारणा राखेका थिए ।
सेनाले शाहीकालको निर्णय अनुसार अत्तरिया बसपार्क, लामिताल र ६१ घरधुरी सहितको जग्गा आफ्नो भोगाधिकारमा परेको भन्दै आएको छ । उसले बेला बेलामा आफ्ना प्रतिनिधिहरू पठाएर बसपार्क हटाउन साङ्केतिक दबाब दिन थालेको स्थानीयको आरोप छ ।
सम्बन्धित पाेस्टहरु