अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा रहेको कान्जी हाउसलाई गौसालामा रुपान्तरण गरिएको छ । बुधबार पशु कल्याण धनगढी को पहलमा गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित बिभिन्न सहयोगी दाताको सहभागितामा गेटाको कान्जी हाउसलाई गौसालामा रुपान्तरण गरिएको हो ।
गेटा मेडिकल नजिकै लामो प्रयास पछीनिमार्ण कार्य सम्पन्न भएपछी कान्जी हाउसलाई गौसालामा परिवर्तन गरिएको पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज (यस्पाल) अवस्थीले बताए । पशुकल्याण धनगढीले विभिन्न समयमा उक्त कान्जी हाउसका गाई हरुलाइ पराल तथा फलफूल गुड खुवाउने कार्यक्रम पनि गरिएको थियो । विभिन्न समयमा, उक्त कार्यक्रम विभिन्न आदरणीय व्यक्तित्वहरुको सहयोग र साथ रहेको थियो । सबै सहयोग कर्तालाई विशेष धन्यवाद पशु कल्याण धनगढीको तर्फबाट साथै सदैब सहयोग र साथको अपेक्षा राखेको बताए । यस अघि गौ–संरक्षणमा काम गर्दै आएका अवस्थीले गौ–संरक्षणका लागि निर्माण गरिएको सो ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेको बताएका थिए ।
स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जंगलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए । त्यहाँ खानापानी नपाएर तथा विभिन्न रोगका कारण ती गाई मरेको हुनसक्ने उनले बताए । उनले भने, ‘सूचना आएपछि म स्थलगत रुपमै हेर्न त्यहाँ पुगे । एकान्त जंगलको बीचमा रहेको त्यो ठाँउको अवस्था हेर्न नसकिने थियो । सयभन्दा बढी गाई मरेर कङ्काल मात्रै बाँकी थियो । अब भने कान्जी हाउसलाई गौसालामा रुपान्तरण गरिएपछी गौ–संरक्षणमा केही सहज हुने उनले बताए ।