भाषा, संस्कृतिको प्रवर्धन प्राथमिकतामा : मन्त्री जोशी

काठमाडौँ : भाषा, साहित्य र संस्कृति मानव समाजका अभिन्न अङ्ग भएकाले तिनको संरक्षण र प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताइएको छ ।

सोमबार बझाङी समाज काठमाडौँ सांस्कृतिक साँझ कार्यक्रममा उद्घाटन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भाषा, साहित्य र संस्कृतिबिना मानव समाज गतिशील हुन नसक्ने भएकाले यसको संरक्षण र प्रवर्धनका लागि सबैले आआफ्नो तहबाट सक्रियतापूर्वक लाग्नुपर्ने बताए।

उनले भने, “नेपाली समाज विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको एक थुङ्गा हो । यहाँ सबैले सबैको भाषा, संस्कृतिको अस्तित्व स्वीकार गर्दै मानसम्मान गर्ने परिपाटीलाई अझ बलियो बनाउन आवश्यक छ । त्यसका लागि समाजका प्रबुद्ध वर्गको महत्वपूर्ण भूमिका रहन्छ ।” मन्त्री जोशीले भने, “सबै भाषाभाषी, साहित्य, संस्कृतिको विकास र प्रवर्धन गर्ने कामलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । सबै भाषा, साहित्य र संस्कृतिको विकासले मात्र मुलुकको समग्र विकास हुने कुरालाई सरकारले आत्मसात् गर्दै आइरहेको छ ।”

मन्त्री जोशीले सुदूरपश्चिम प्रदेशमा मनाइने नयाँ वर्ष (बिसुपर्व) ले समाजलाई विभक्त नहुन दिनका लागि एकताको सूत्राधारको काम गरिरहेको बताउँदै बिसु जस्ता पर्वको सांस्कृतिक महत्वलाई पछिल्लो पुस्तासम्म पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा डा. पदमबहादुर खड्काले सुदूरपश्चिम प्रदेशमा मनाइने बिसुपर्व सामाजिक सद्भाव र एकताको पर्व भएकाले यसको प्रवर्धनतर्फ तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

डा. खड्काले भने, “संस्कार र संस्कृति समयसापेक्ष रूपमा पुस्तान्तरण गर्दै लैजान सकिएन भने परम्परा लोप हुँदै जाने समाजका सचेत वर्गले सधैँ सजग हुनु जरुरी छ ।” कार्यक्रममा सामाजिक अभियन्ता मीनबहादुर सिंहले पछिल्ला दिनमा भाषा, साहित्य र संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पछिल्लो पुस्तालाई चाडपर्व, संस्कारबारे सिकाउने कर्तव्य अघिल्लो पुस्ताको भएकामा जोड दिए ।

कार्यक्रममा वरिष्ठ कलाकार चेतबहादुर सिंह, नन्दकुमार खड्कालगायतले संस्कृतिको संरक्षणमा सरकारले खासै ध्यान दिन नसक्दा पछिल्ला पुस्ताले परम्परा, लोक संस्कृतिबारे ज्ञान लिन नसकेको गुनासो गरे। कार्यक्रममा विभिन्न कलाकारले सुदूरपश्चिममा बिसुपर्वमा गाइने लोक डेउडालगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.