अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सत्ता गठबन्धनबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमती भएपछि समाजवादीले समर्थन फिर्ता लिएके हो । समाजवादीका नेता दीर्घ सोडारी आफै प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन ।
बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेश गरेका थिए ।
समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन । तर उनकै पार्टीका ७ जना मध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन । बैठकमा समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि, कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिनसक्छन । बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।