आगलागीका कारण बोटबिरुवा नष्ट, जीवजन्तु सङ्कटमा

दार्चुला : सुक्खायाम सुरु भएदेखि दार्चुलाका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण बोटबिरुवा जलेर नष्ट हुनका साथै जीवजन्तु सङ्कटमा परेका छन् । गत फागुन २५ गतेदेखि हालसम्म विभिन्न सामुदायिक वनमा नियमित आगलागी भइरहेको र आगलागी नियन्त्रण गर्न समस्या भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत लालबहादुर विश्कर्माले बताए । उनका अनुसार, दार्चुलामा १८६ वटा सामुदायिक वन छन् । जसमध्ये १८ वटा सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको बताइएको छ ।

प्रायजसो वनमा निरन्तर आगलागी हुने गरेको छ । लेकम, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको वन क्षेत्र आगलागीको उच्च जोखिममा रहेको जानकारी उनले दिए । सल्लाका रुख बढी भएको वनमा बर्सेनि आगलागी हुने गरेको छ । आगलागीका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन् । वन क्षेत्रमा लागेको आगोले मानयिी क्षति नगरे पनि कलिला बोटबिरुवा र जीवजन्तु सङ्कटमा परेको शैल्यशिखरका वन्यजन्तु संरक्षणकर्मी गोपी मिश्रले बताए ।

औषधीय गुण भएका जडीबुडीसमेत आगोले जलेर नष्ट हुने गरेका छन् । वनमा लाग्ने आगोका बारेमा सर्वसाधारणलाई समयमा नै सचेत गराउनुपर्ने र जथाभावी लाग्ने आगोलाई समयमै निभाउनुपर्ने सरोकारवालाहरू बताउँछन् । जनचेतनाको अभावसँगै सामुदायिक वन उपभोक्ता समिति जिम्मेवार नहुनुलगायत स्थानीयको लापर्बाहीका कारण सामुदायिक वनमा बर्सेनि सुक्खा मौसममा आगलागी हुने गरेको कृष्णदेव जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.