बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खस्यो

अत्तरिया, १५ बैशाख : बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शनिबार भएको निर्वाचनमा ४९. १२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको जानकारी दिए । सो क्षेत्रमा २०७९ को प्रदेश सभा निर्वाचन भन्दा कम मतदान भएको छ । २०७९ को चुनावमा अहिलको भन्दा मतदाता कम भए पनि ३१ हजार २ सय ७९ मत सदर भएका थिए ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रका बाहेक अरु छ पालिका र थलारा गाउँपालिकाको एक वडाको मत पेटिका शनिबार राति नै सदरमुकाम चैनपुर पुगेको छ । साइपालका मतपेटिका भने आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइने उनले बताए ।
सबै ठाउँका मत पेटिका आएपछि आइतबार दिउँसो नै मतगणना सुरु हुने उनले बताए । उपनिर्वाचनमा ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा तोकिएको थियो ।
प्रदेश सभा क्षेत्र नम्बर १ मा सातवटा पालिकाका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.