सुदूरपश्चिम सरकार विस्तारको तयारी, नाउपालाई कृषि मन्त्रालय दिने सहमति

अत्तरिया : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। यस क्रममा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति (नाउपा) लाई थप एक मन्त्रालय दिने सहमति भएको छ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्रालयसहित सरकारमा सहभागी गराउने सहमति भएको सोही पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका कैलाश चौधरीले बताए। उनका अनुसार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने समझदारी बनेको छ।

वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त सोडारीले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। मुख्यमन्त्री बनेकै दिन उनले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे। त्यसो त त्यस दिन उनले नाउपाकै टीका थापालाई पनि बिनाविभागीय मन्त्री बनाउन खोजेका थिए। तर बिना मन्त्रालयको मन्त्री बन्न थापाले अस्वीकार गरिन्। अहिले उनै थापा कृषि मन्त्रालयको जिम्मेवारीसहित सुदूरपश्चिम सरकारमा सामेल हुन तयार भएकी हुन्।

सत्ता गठबन्धनका अन्य घटकलाई कति र कुन मन्त्रालय दिने भन्ने विषय अझै टुंगिएको छैन। नेकपा एमालेले तत्काल सरकारमा सामेल नहुने अडान लिइरहेको छ। बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै मुख्यमन्त्री सोडारीले सरकार विस्तार तथा विश्वास मतको गृहकार्य थालेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेकपा एकीकृत समाजवादीभित्र विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिनुपर्ने आवाज पनि उठिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.