अझै शुरु भएन बुढीतोला सडकखण्ड मर्मत कार्य

अत्तरिया : भीमदत्त राजमार्ग सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने एक मात्र सडक हो । यो सडक ठप्प रहँदा पहाडको र तराईको सम्बन्ध नै छुटिन्छ ।
कैलालीको बुढी तोला सडकखण्ड गएको साउनमा भासियो । त्यसपछि सुदूरपश्चिमको जनजीवन प्रभावित भयो । हप्ता दिनसम्म सुदूरपश्चिमका नागरिकले दुख पाए । त्यति वेला वैकल्पिक सडकको समेत बहस भएको थियो ।
पहिरो गएर भासिएको १० महिना पुग्दा समेत सडक मर्मत कार्य अझै शुरु गरिएको छैन । गत साउन २३ गते बर्षासगै पहिरो खसेर बुढी तोला सडकखण्ड भासिएको हो । ४ सय मिटर पहिरो जाँदा ८० मिटर सडक भासिएको थियो ।
अहिले सम्म पनि सडक पुनर्निर्माण नहुँदा यातायात आवागमनका कठिनाइ भएको चालकहरूको भनाई छ । सडकमा रहेको पहिरो पन्छ्याएर यातायात सञ्चालन हुँदै आएको छ । त्यतिवेला सडकको सतह अध्ययन गर्नुका साथै वैकल्पिक सडकको बहस भयो । तर, त्यो समस्या तत्कालका रोकिएपछि त्यसपछिको प्रक्रिया अगाडि बढ्न सकेन् । ४ सय मिटर सडक धुलाम्मे हुँदा आवतजावतमा कठिनाई छ । मोटरसाईकलमा यात्रा गर्नेहरुलाई अझ बढी समस्या छ । सरकारको ध्यान यसमा गएको छैन् । बर्खा आउने समय नजिक आउँदा पनि सरकारको ध्यान जान सकेको छैन ।
यो सडक बन्द हुँदा पहाडी जिल्लामा खाद्यान्न लगायतका बस्तुमा अभाव हुनेगरेको छ । बर्खायाम नजिक आउँदा पनि कुनै पनि निकायले ध्यान दिन सकेको छैन् । ‘जव समस्या आउन्छ । त्यसपछि मात्र प्रक्रिया अगाडि थाल्दा समस्या हुने गरेको छ’, बस चालक खड्क शाहीले भने । ‘सडक भासिएदा भएको पीडालाई सम्झेर पनि सडक निर्माण हुनुपर्ने हो । तर, अहिले सम्म धुलाम्मे अवस्थामा रहेको छ ।’ स्थानीय सरकारले पनि प्रदेश र संघीय सरकारसंग समन्वय गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।
सडक भासिएको क्षेत्रमा मोटरसाईकलमा यात्रा गर्न नै मुस्किल हुने गरेको अर्को यात्रु सुरेन्द्र कुँवरले बताए । ‘सडक धुलाम्मे छ । सडकको सतह कस्तो छ । त्यसको बारेमा केहि अध्ययन भएको छैन’, उनले भने अहिले मौसम सुख्खायाम छ । मर्मत कार्य अगाडि बढाउनुपर्ने भए पनि हुन सकेको छैन् । यस्तै अवस्था रहेमा फेरि पनि बर्खायाममा नागरिकले पीडा भोग्नुपर्नेछ ।’ उनले सरकारले चाडो भन्दा चाडो सडक निर्माण कार्यहरु अगाडि बढाउनुपर्ने माग गरे ।
सडक डिभिजन कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले सडकमाथिको भाग कटिङ्ग गर्ने र सडक तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुने गरि इनार निमार्णका डिपिआर तयार भएको दावी गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.