अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनको लागि दबाब सृजना गर्ने निर्णय गरेको छ ।
वैशाख २३ गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । यस्तै गरी, पहलमानपुरमा रहेको प्रदेशको सबै भन्दा ठूलो क्षमताको कोल्ड स्टोर संरक्षण गर्न माग गरेको छ ।
नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज डबलबहादुर शाह (भरत सी) ले पहलमानपुरको कोड स्टोर देखी महाकाली कोरिडोर सम्मका विषयमा पार्टीले निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार एमसीसी, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, विकृति, मिटर व्याज लगायतका विषयमा पार्टीले संघर्ष गर्ने र सीमामा सहायक केन्द्रको स्थापना गर्ने निर्णय गरिएको छ । उनले पाँच बुँदामा समसामयिक प्रस्ताव पास गरेको पनि जानकारी दिए ।
यस्तै, महाकाली कोरिडोर, सेती लोक मार्गको लागि पर्याप्त बजेट विनियोजन गर्न लगाउने र छिटो सम्पन्न गर्न माग गर्ने, गरिब, किसान, र सुकुम्वासीलाई वैकल्पिक व्यवस्था विना विस्थापन गर्ने कामको विरोध गर्ने, कोड स्टोरको संरक्षणको पहल गर्ने देखी चिसापानी राजकाडा केबुलकारमा स्थानीय निकाय र जनताको शेयर सुनिश्चितताको पहल गर्ने समसामयिक प्रस्ताव पास गरिएको छ ।
कैलालीको गोदावरी हरैयाको जग्गा पार्टीको नाममा रहेको पनि ठहर गरेको उनले बताए । ६ महिने पार्टी सुदृढीकरण तथा जन सम्बन्ध विस्तार अभियान सुरु गरिएको र विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको समेत उनले जानकारी दिए । मंगलबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक संकट र युवा पलायनले देश थप सङ्कटमा गइरहेको भन्दै मुलुकको विकासको लागि नेपाली विशेषताको समाजवादको स्थापना आवश्यकता रहेको बताए । उनले सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेको सीले माओवादी एकजुट हुन जरुरी रहेको धारणा समेत राखे ।
उनले भने ‘कम्यनिष्ट प्रति जनताको विश्वास छ । समयमै सबै कम्युनिष्ट एक हुन जरुरी छ । एक हुन नसके मोर्चा सम्म बनाउनुपर्ने समय आएको छ ।’ उनले अहिलेको सरकार निरन्तर चल्नुपर्ने समेत बताए । उनले भने अहिलेको सरकार अगाडिसम्म चल्नुपर्छ । यो सरकारलाई अझ बलियो बनाउनुपर्छ । सरकारका सकरात्मक काममा आफ्नो पार्टीको सहयोग र समर्थन रहने समेत उनले स्पष्ट पारे । उनले भने ‘सरकारले चालेका भष्टाचार विरुद्धका काममा हाम्रो सहयोग रहन्छ । राम्रा कामका लागि सधै सहयोग गर्छौ ।’
उनले एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारले गरेकोे निर्णय गरेको सकरात्मक भएको प्रतिक्रिया दिए । सीले देशमा सचेत नागरिकले बस्न नसक्ने अवस्था भएको बताउँदै देशभक्त परिवर्तनकारी शक्ति एक भएर देश निर्माणमा लाग्नुपर्ने बताए । उनले भने ‘भष्टाचार बढ्दो छ । आर्थिक रुपले देश टाँट पल्टिने अवस्था छ । जनता पलायन हुँदै छन् । यसमा सबै सचेत हुनुपर्ने बेला आएको छ ।’
सम्बन्धित पाेस्टहरु