
अत्तरिया : पछिल्लो बर्षमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । राज्यले पनि यसमा लगानी थपेको छ । एक सटरमा सिमित आयुर्वेदिकबाट उपचार सेवा अहिले सुदूरपश्चिमको धनगढीमा सुविधा सम्पन्न भवनमा सेवा सुरु गरेको छ । प्रदेशका नौँ वटै जिल्लाका नागरिकहरु सेवा पाउन भन्ने उदेश्यका साथ धनगढी उपमहानरपालिका–१३ राजपुरमा प्रादेशिक अस्पताल सञ्चालनमा छ ।
प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीले बुधबार आयोजना गरेको सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अस्पतालले गरेका सेवाका बारेमा जानकारी दिएको हो ।
ओपिडी सेवा, वरिष्ठ बालरोग चिकित्सक, आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सकद्धारा चिकित्सा सेवा र प्याथोलोजी सेवाहरु प्रदान गर्दै आईरहेको चिकित्सालयले जनाएको छ । चिकित्सालयमा आर्थिक बर्ष २०७९ मा महिला १७ हजार ३ सय १७ र पुरुष १२ हजार ४ सय ७० ले आयुर्वेद सेवा लिएको डा. दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै आर्थिक बर्ष २०८० चैतसम्ममा महिला र पुरुष गरी १९ हजार ६ सय २९ जना बिरामीले सेवा लिएको उनले बताए । यो एक बर्षमा बिरामीले लिएको संख्या हो ।
आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको आर्कषण बढे पनि सेवा प्रवाहमा समस्या हुने गरेको चिकित्सालयका मेसु तथा बालरोग विशेषज्ञ डा. रामकामेश्वर ठाकुरले बताए । उनले निःशुल्क फार्मेसी सञ्चालन प्रक्रियामा समस्या हुनाको साथै विशेषज्ञ सेवाका लागि विशेषज्ञको अभाव भएको उनले बताए । आवश्यक जनशक्ति नहुँदा पनि धेरै नागरिकहरुले सेवा पाईहरको उनको भनाई रहेको छ । जडिबुटिका लागि प्रसिद्ध सुदूरपश्चिम प्रदेशमा बढी भन्दा बढी आयुर्वेदिक औषधी प्रयोग गर्न आवश्यक रहेको उनले औल्याएका छन् ।
त्यस्तै पञ्चकर्म सेवालाई गुणस्तरीय बनाउन आवश्यक जनशक्तिको खाँचो, फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव, विदाको दिन पनि सेवा सुचारु गर्न आवश्यक जनशक्ति र कर्मचारीहरुलाई आवासको आवश्यता रहेको उनले बताए । कार्यक्रममा आयुर्वेद परिचय र स्वस्थ जीवनशैलीका बारेमा डा. मोहन जोशीले प्रस्तुतीकरण गरेका थिए । बिरामीले आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए । यहाँका नागरिक जीर्ण रोगको उपचारका लागि भारत धाउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै उनले सेवा विस्तार गर्दै लगिने बताए ।
कार्यक्रममा शरीरमा भएका विकृत दोषलाई निर्मुल बनाउन पञ्चकर्मको विधिको उपाय र विधीका बारेमा डा.. विजय पुरीले प्रस्तुतीकरण गरेका थिए ।
प्रादेशिक आयुर्वेद चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा आवश्यक जनशक्ती र सेवा प्रवाहलाई सहज, सरल बनाउन लागिपरेको बताए । अस्पतालको समग्र विकासका लागि सबैले लाग्नुपर्ने आवश्यक भएको उनले बताए । आयुर्वेदिक अस्पतालका लागि प्रदेश र संघीय सरकार गम्भिर हुन नसकेको जनाएको छ ।
आयुर्वेद चिकित्सालयमा ल्याब, ओपिडी, पूर्वकर्म, पञ्चकर्मलगायत सेवा उपलब्ध छन । राजपुरमा चिकित्सालय ५० शय्याको छ । चिकित्सालयले पाइल्स, फिस्टुला, बाथरोग, पेटसम्बन्धी समस्याको उपचार गरिरहेको वैद्य निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । बाथरोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छालासम्बन्धी समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार सेवा दिइरहेको उनले बताए । आवश्यक जनशक्ति व्यवस्थापनसँगै एम्बुलेन्स तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना भए सेवाप्रवाह अझ स्तरीय र प्रभावकारी हुने चिकित्सालयले जनाएको छ ।
