Agni Offset Press

सुदूरपश्चिम सरकारको चिडियाखाना बनाउने योजना बजेटमै सीमित

Aarati simant

अत्तरिया : सुदूरपश्चिम सरकारले चालु आव ०८०\०८१ को बजेट कार्यक्रममा प्रदेशको पर्यटन प्रवर्द्धनसँग जोडेर केही नौलो योजना ल्याएको थियो । तर, ती योजनाहरू अब कागजै सीमित हुने भएका छन् । प्रदेश सरकारले आफ्नो बजेटमै कैलालीको गोदावरी क्षेत्रमा चिडियाखाना निर्माण गर्ने र जिल्लाको चिसापानीदेखि खानीडाँडासम्म चुरे पहाडै पहाडमा गुरिया ट्रेल अर्थात् पदमार्ग बनाउने योजना बनाएको थियो । तर ती दुई योजना बजेटको पानामा मात्रै सीमित हुन पुगेका हुन् ।
प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र केसीका अनुसार प्रदेश सरकारले कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रुख बिरुवा कम भएको तथा अतिक्रमणको जोखिम रहेको वन क्षेत्रमा सङ्घ सरकारको समन्वयमा प्रदेश स्तरीय चिडियाखाना स्थापनाको कार्य अगाडि बढाउने योजना रहेको बताए । जसको लागि ५० लाख बजेट विनियोजन गरिएको थियो । जसको लागि सङ्घीय मन्त्रालयसँग सहमतिको लागि पत्राचार गरिएको केसीले बताए । तर सङ्घीय मन्त्रालयले हाललाई निर्माण भन्दा अध्ययन मात्रै गर्ने सहमति पत्र दिएपछि निर्माणको कार्य अगाडि बढ्न नसकेको जानकारी दिए । तर हालसम्म अध्ययन समेत हुन नसक्दा सो बजेट फ्रिज हुने देखिएको हो ।

चिडियाखाना बनाउने योजना जस्तै गुरिल्ला ट्रेल बनाउने योजना समेत तुहिएको हो । मन्त्रालयका सूचना अधिकारी केसीका अनुसार चिसापानीदेखि खानीडाडाँसम्म गुरिल्ला ट्रेल अर्थात् पदमार्ग निर्माणको लागि डीपीआर निर्माणको लागि २० लाख बजेट विनियोजन गरिएको थियो । गुरिल्ला ट्रेल र चिडियाखाना निर्माण योजनाबारे प्रदेश सभाको बैठकमा पनि प्रदेश सभा सदस्यहरूले टीकाटिप्पणी गर्दै आएका थिए । कतिपय प्रदेश सभा सदस्यहरूले वन फडानी गरेर गोदावरीमा प्रदेश राजधानी बनाउने निर्णय गरेको सरकारले त्यही वन क्षेत्रमा चिडियाखाना बनाउने निर्णयलाई हास्यास्पद र फजुल खर्ची योजनाको रूपमा टिप्पणी गर्दै आएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.