अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोली बिहिबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । प्रदेश सभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार बिहान प्रदेश सभा बस्ने जनाएको छ । यसअघि बैशाख २१ र २२ गते विश्वासको मत लिनको लागि प्रदेश सभा बैठक बोलाइए पनि सत्ता गठबन्धनको एक प्रमुख दल नेकपा एमाले उपस्थित नहुने भएपछि दुवै दिनको बैठक स्थगित भएका थिए ।
बैशाख ६ गते नियुक्त भएका मुख्यमन्त्री सोडारीले ३० दिनभित्र अर्थात् जेठ ४ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । यसअघि “गठबन्धनका दलहरूसँग छलफल नगरी एकतर्फी ढंगले निर्णय गरेको” भन्दै एमालेले विश्वासको मत लिने प्रक्रियामा सहभागी नबन्ने बताउँदै आएको थियो । एमालेको असहमतिका कारण बैशाख २१ गते बोलाइएको बैठक अर्को दिनसम्मका लागि स्थगित भएको थियो भने अर्को दिन (बैशाख २२ गते) पनि अनुपस्थित हुने देखिएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।
यस पटक भने एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्ने भएको छ । एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले केन्द्रसँगको समन्वय र छलफलपछि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनेगरी निर्णय भएको बताए । प्रदेश सभा सदस्य पाठकले संसदीय दलको बैठकबाट विश्वासको मत दिनेबारे औपचारिक निर्णय गरिने बताए । अर्को सत्ता गठबन्धन दल नेकाप माओवादी केन्द्रले विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्दै छ । माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले विश्वासको मत दिने निर्णय भइसकेको र संसदीय दलको बैठकबाट औपचारिकता प्रदान गरिने बताए ।
सरकारमा मन्त्री रहेका नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले विश्वासको मत दिने भए पनि बाँकी पाँच जना प्रदेश सभा सांसदहरू भने अहिलेसम्म सोडारी नेतृत्वको सरकारको विपक्षमा रहेका छन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आज बुधबार बस्ने बैठकले विश्वासको मतबारे रणनीति बनाउने जानकारी दिए । एकीकृत संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सोडारीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिका दुई जना र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश सभामा नेपाली काँँग्रेसका १८, एमालेका ११, माओवादी केन्द्रका सभामुखबाहेक १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन कम्तिमा २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।