गोदावरी नगरमा स्काउटद्वारा दीक्षान्त समारोह

अत्तरिया : गोदावरी नगरपालिकामा नेपाल स्काउटले दीक्षान्त समारोह सम्पन्न गरेको छ । नेपाल स्काउट स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकामा स्काउटको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुखलाई दिक्षित गरिएको हो । नेपाल स्काउटको गोदावरी नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदादेबी रोकायालाई दिक्षित गरेको छ ।
नेपाल स्काउट नियमावली ७७ (संसोधन २०८०) अनुसार स्थानीय तहको कार्यपालिकाको प्रमुख वा अध्यक्ष स्थानीय स्काउट संरक्षक, स्थानीय तहको कार्यपालिकाको उप–प्रमुख वा उपाध्यक्ष ‘स्थानीय प्रमुख स्काउट’ र स्थानीय तहको शिक्षा तथा युवा शाखा हेर्ने कर्मचारी स्थानीय स्काउट परिषद्को सदस्य–सचिव रहने व्यवस्था छ ।
यसै नियमावली बमोजिम बिहिबार गोदावरी नगरपालिका, कैलालीका कार्यपालिका प्रमुख बिरेन्द्र भट्ट र उप–प्रमुख शारदा देवी रोकायालाई दिक्षा तथा पद गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु,नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा राष्ट्रिय प्रशिक्षक जहर सिंह थापा, गोदावरी नगरपालिका, कैलालीका स्थानीय प्रमुख आयुक्त ललनप्रसाद चौवे, स्काउट मास्टर, पत्रकार तथा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
बालबालिकालाई स्काउटमा आवद्ध गराएर शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिबृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन जिल्ला स्तरीय समितिले काम गर्न नगर प्रमुख भट्टले निर्देशन दिए । साथै आजका बालबालिका भोलीका कर्णधार रहेकाले बालबालिकामा सच्चरित्रको विकास गर्न जरुरी रहेको बताए । बालबालिकामा नैतिकताको एकदमै जरुरत रहेकाले स्काउटले उनीहरुलाई नैतिकताका कुरा बढि मात्रामा सञ्चार गर्न रिजालले अनुरोध गरे ।
युवा तथा बालबालिकाहरुको सर्वाङ्गीण विकास गरी अनुशासित, मर्यादित, स्वावलम्बी, कर्तव्यनिष्ठ नागरिक बन्न उत्प्ररणा दिने र स्वयमसेवाको भावना जगाउने साथै जीवन उपयोगी र व्यवहारिक शिक्षा दिने, विपद व्यवस्थापनमा सदैव अग्रपंक्तिमा उभिने जस्ता गतिविधि गरि रहेकोले गोदावरी नगरपालिकालाइ प्रदेशकै अब्बल नगरपालिका बनाउनमा प्रमुख तथा उपप्रमुखले प्रतिबद्धता जनाए । कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरपालिकाबाट स्काउटिङ सन्चालनकालागि योजना सहितका बजेट मागपत्र नगरप्रमुख तथा उपप्रमुखद्वयलाई बुझाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.