अत्तरिया, ९ जेठ : जैविक विविधताले महत्वपूर्ण विश्व रामसार क्षेत्र कैलालीको घोडाघोडी तालमा चरा उत्सव तथा चरा फोटा प्रदर्शनी कार्यक्रम सुरु भएको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा बुधबार एक औपचारिक कार्यक्रमबिच फोटो प्रदर्शनी गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना तथा नेपाल पंक्षी संरक्षण सङ्घको व्यवस्थापनमा सुरु भएको चरा उत्सव तथा फोटा प्रदर्शनी जेठ १३ गतेसम्म जारी रहने जनाइएको छ ।
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पहिलो पटक भएको फोटो प्रदर्शनी कार्यक्रममा नगरप्रमुख खडकबहादुर रावतले फोटोमा भएका चरा ताल क्षेत्रमा सधै संरक्षण गर्न सरोकारवाला सबै जुट्नुपर्ने बताए ।
उनले जैविक विविधता अन्तर्गत घोडाघोडीमा रहेका विभिन्न आगन्तुक तथा रैथाने चरा संरक्षणका लागि फोटो प्रदर्शनी कार्यक्रमले सचेतनाको काम गर्नेमा विश्वास व्यक्त गरे । संरक्षणका लागि योगदान गर्ने व्यक्तिलाई धन्यबाद दिंदै नगरप्रमुख रावतले भने, ‘अतिक्रमण र मानवीय गतिविधिका कारण सङ्कटमा परेको जैविक विविधतालार्ई जोगाउनु हामी सबैको दायित्व हो ।’ घोडाघोडीमा ३८० प्रजातिका चरा पाइने रेकर्डमा उल्लेख छ ।
२०७८ फागुनमा सुदूरपश्चिममा प्रदेश सरकारले नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी) क्षेत्र घोषणा गरेपछि घोडाघोडीको संरक्षणमा चासो दिन थालिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले घोडाघोडीमा चराको फोटो प्रदर्शनबाट बृहतरुपमा संरक्षणका लागि सचेतना फैलाउनुका साथै चरा पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
उनले घोडाघोडी घुम्न आउने पर्यटकले घोडाघोडीमा धेरै चरा पाइन्छन् भन्ने सुने पनि प्रत्यक्ष अवलोकनबाट सबै चरा देख्न नपाएको अवस्थामा फोटा अवलोकनबाट लाभ लिन सक्ने बताए । लामो समयदेखि घोडाघोडी क्षेत्रको चरा गणना कार्यमा सक्रिय नेपाल पंक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत तथा चराविद् हिरुलाल डंगौराले प्रदर्शनीमा राखिएका चराका बारेमा जानकारी गराए ।
उनले घोडाघोडीमा पाइने महत्वपूर्ण चराहरुमध्ये ६५ वटा फोटो प्रदर्शनीमा समावेस गरिएको जनाउँदै ती चरा गणना भएको बर्ष र विशेषता बारेमा जानकारी दिए । चरा उत्सव तथा फोटो प्रदर्शनी कार्यक्रममा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबल बोहराले घोडाघोडीको जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा चरा उत्सव तथा फोटा प्रदर्शनीले सहयोग पुग्ने बताए ।
कार्यक्रममा डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ, चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, सामुदायिक वन उपभोक्ता महासङ्घका मैना ढकाल, वसन्ता संरक्षण वन समितिका अध्यक्ष पुष्कल बम लगायतले सिमसार, जैविक विविधता र पर्यटनका विषयमा धारणा राखे ।
सम्बन्धित पाेस्टहरु