अत्तरिया, ११ जेठ : गोदावरी नगरवालिकाका तरुण दल सभापति रमेश भट्टराई सामाजिक कार्यमा सक्रिय भएका छन् । उनले शुक्रबार गोदावरीमा आर्थिक अवस्था कमजोर भएका परिवारका दुई जना विद्यार्थीको अभिभावकत्वग्रहण गरेका छन् । यस्तै, विद्यालयलाई फर्निचर एवम् खेलकुद सामग्री सहयोग गरेका छन् ।

आर्थिक अभाव कमजोर भएका परिवारलाई केही राहत प्रदान गर्ने उद्देश्यले गोदावरी ३ का २ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेका हुन । स्थानीय मुक्ति आधारभुत विद्यालयमै कक्षा २ मा पढ्ने चुनु चौधरीकी छोरी सृष्टि चौधरी र सम्झना चौधरीकी कक्षा ३ मा पढ्ने छोरी सिम्रन चौधरीको अभिभावकत्व उनले गरेका छन् । आर्थिक अवस्था कमजोर भएका दुवै परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले अभिभावकत्व लिएको उनले बताए ।
‘मैले आर्थिक अवस्था कमजोर हुँदा पढ्न गाह्रो हुने अवस्था भोगेको छु, म पनि कसैको सहयोगले यहासम्म पुगेको हु’ व्यवसायी समेत रहेका भट्टराईले भने ‘मेरो जस्तै भोगाई अरुलाई नहोस, आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बालबालिका बञ्चित नहोउन भन्नका लागि मैले यो काम गरेको हुँ ।’
उनले उक्त विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै स्कुल ड्रेस पनि उपलब्ध गराएका छन् । जेहेन्दार विद्यार्थीहरुले आर्थिक अभावकै कारण पढाई छाड्नुपर्ने अवस्था नआओस भन्ने आफ्नो चाहना रहेको उनले बताएका छन ।
आफ्ना बालबालिकाहरुलाई पढाईदिने थाहा पाएपछि बालबालिकाका अभिभावकहरु पनि खुसी भएका छन । उनीहरुले छोरीहरुलाई बढाउने घरको अवस्था नभएको अवस्थामा तरुण दलका सभापतिको सहयोग अविस्मरणीय भएको बताए ।
दुई जना विद्यार्थीको अभिभावकत्वग्रहण र विद्यालयलाई फर्निचर एवम् खेलकुद सामग्री सहयोग
यस्तै तरुण दल सभापति भट्टराईले उक्त विद्यालयलाई पनि फर्निचर एवम् खेलकुद सामग्री समेत सहयोग गरेका छन । उनले विगतदेखि नै चलाएको अभियान अन्र्तगत विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग गरेका हुन । विद्यालयलाई ४ वटा राउन्ड टेबल, एउटा दराज, ४ वटा ह्वाईट बोर्ड, ६ वटा बल लगायत गरी करिब ५० हजार बराबरका सामग्री सहयोग गरेका हुन ।
यसअघि सोही वडामा रहेको सरस्वती आधारभुत विद्यालयलाई पनि फर्निचर एवम् स्टेशनरी सहयोग गरेका थिए । उनले आफुले अभियानको रुपमा यसलाई सञ्चालन गरेको र नगरका सबै वडाहरुमा यो अभियानले काम गर्ने समेत बताएका छन