विकासका लागि सबैको हात्तेमालो आवश्यक : मेयर भट्ट

अत्तरिया : गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले आगामि आउने बर्षका लागि बजेट सिमा निर्धारण गर्न अगाडि बढेको बताएकाछन् । सोमबार गोदावरी वडा नम्बर २ को वडा भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । त्यसका लागि नगरका विभिन्न वडामा रहेका नागरिकहरु गुनासा र मागहरु लिनेक्रममा रहेको बताए । जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ । गोदावरीमा छाडा छौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालोबाट नै समस्या समाधन हुने मेयर भट्टले बताए । स्थानीय सरकार आत्मनिर्भर हुन सकेको छैन् । संघीय सरकारसंग भरपर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोदावरी नगरपालिका अन्र्तगत रहेको अत्तरिया सडकमा बत्ती बाल्नका लागि पैसा बुझाएको १७ महिना भयो’, उनले भने ‘कागजी प्रक्रिया भईरहेको छ । बत्ती बल्छ ।’ नगरका १२ वटै पालिकामा जग्गा नापीको कार्य सम्पन्न भएको बताउँदै उनले चाडै राष्ट्रिय भूमि आयोगले पुर्जा दिने उनले बताए । नगरको शिक्षा क्षेत्र सुधारका लागि अगाडि बढेको उनले बताए ।
यस्तै सोमबार नै गोदावरी नगरपालिका–२ को वडा भेला सम्पन्न भएको छ । वडाध्यक्ष यज्ञ महराको सभापतित्वमा सम्पन्न भेलाका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट नै रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया रहेकी थिईन ।
वडाले आगामी आर्थिक वर्षका लागि ८३ लाख ५८ हजार ३३९ रुपैया बजेट प्रस्तुत गरेको छ । नगरले दिएको बजेट सिलिङ अनुसार वडाका लागि समानिकरण तर्फ ६० लाख र सुत्रमा आधारिततर्फ २३ लाख ५८ हजार ३३९ रुपैया आएको छ ।
उक्त बजेटलाई वडाले विभिन्न शिर्षकमा छुट्याएको छ । वडाले पुर्वाधार विकास तर्फ ४७ लाख बजेट छुट्याएको छ भने सामाजिक विकास तर्फ १५ लाख ५८ हजार ३३९ रुपैया छुट्याएको छ । यसैगरी आर्थिक विकास तर्फ १० लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ लाख र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ वडाले १० लाख रुपैया छुट्याएको छ ।
वडाले चालु आर्थिक वर्षको हालसम्म करिब ७० लाख रुपैया राजश्व समेत उठाईसकेको वडासचिव दिव्यकुमारी जोशीले बताएकी छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.