अत्तरिया : सुदूरपश्चिम प्रदेशमा १७ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले आज धनगढीमा विविध कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो ।
विहान धनगढीको शहिद गेटबाट सुरु भएको प्रभातफेरी कार्यक्रम राष्ट्र बैंक चोक हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा पुगि समारोहमा परिणत भएको थियो । मूल समारोह कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्र सबै भन्दा उत्तम व्यवस्था भएको बताए ।
उनले योग्यता, क्षमता र सीपका आधारमा शासन व्यवस्था चलाउनु पर्छ भन्ने यो व्यवस्था संसारकै उच्चतम व्यवस्था भएको बताए । उनले भने गणतन्त्रात्मक शासन व्यवस्थाले सामान्य मान्छे पनि मुलुकको राष्ट्र प्रमुख हुनसक्छ भन्ने सन्देश दिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ,प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।