अत्तरिया : मनसुन नजिकिए पनि यस वर्षका लागि सुदूरपश्चिम प्रदेशको मनसुनजन्य विपत् प्रतिकार्य योजना बन्न सकेको छैन । विपत्पूर्व आवश्यक तयारी तथा विपत्का बेला खोज उद्धार गर्न र विपत्पछि प्रभावितको व्यवस्थापनका लागि हरेक वर्ष मनसुनजन्य विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ ।
मनसुन लाग्न अब एक साता बाँकी रहँदासम्म अझै विपत् प्रतिकार्य योजना तयार भइनसकेको प्रदेश सरकारले जनाएको छ । विभिन्न मन्त्रालयले बेलैमा विपत्सम्बन्धी तथ्याङ्क उपलब्ध नगराएका कारण प्रतिकार्य योजना बनाउन नसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए ।
उनले भने, “हामी अहिले पनि यसैको तयारीमा लागेका छौँ । अपडेट गर्ने कार्य भइरहेको छ तर विपत् प्रतिकार्य योजना अझै बनिसकेको छैन । मन्त्रालयहरूमा ताकिता गर्दा पनि बेलैमा डाटा उपलब्ध भएको छैन ।” गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार यस प्रदेशमा मनसुनजन्य विपत्बाट पाँच हजार पाँच सय घरपरिवार प्रभावित हुने छन् ।
यसै गरी करिब एक हजार पाँच सय घरपरिवार विस्थापित हुने प्रक्षेपण गरिएको छ । यो प्रदेशको कैलाली तथा कञ्चनपुरमा बाढी तथा पहाडमा पहिरोका कारण सर्वसाधारण विस्थापित हुने गरेका छन् ।