अत्तरिया : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको बताइन् ।
उनले ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भई सरकारले काम गरेकोले दोषी भए जोसुकै भएपनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको बताइन् । उनले सरकार भ्रष्ट्राचार, विकृति र विसङ्गतिका विरुद्ध निर्मम रुपमा अघि बढिरहेको बताइन् । सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर १० बर्षे गुरुयोजना निर्माण गरिने बताइन् । उनले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्वौ राजस्व भित्र्याउन सकिने बताइन् ।
मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र सामाजिक सञ्जाल सम्बन्धि विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूर सञ्चार ऐनको ड्राफ्ट तयार भएको बताइन् । उनले आमसञ्चार सम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास ब्यक्त गरिन । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले बजेटका कारण सरकार तलमाथि हुँदैन, त्यो सम्भावना छैन, वर्तमान गठबन्धन राजनीतिक स्थायित्व दिने गरि पूरै अवधि लैजाने सहमति भएको बताइन् ।