अत्तरिया : जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहले मनसुनजन्य विपत्बाट जनतालाई जोगाउनका लागि अझै पनि विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन् । मनसुन लागे पनि कैलालीका स्थानीय तहले यो वर्षका लागि अझै विपत् प्रतिकार्य योजना बनाउन नसकेका हुन् । जिल्लामा बर्सेनि सबैभन्दा बढी बाढी, डुबानलगायतका मनसुनजन्य विपत्को सामना गर्दै आएका स्थानीय तहमा समेत यो वर्षको विपत् प्रतिकार्य योजना बनेको छैन । यद्यपि त्यसको तयारीमा जुटेको स्थानीय तहले जनाएका छन् ।
मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण र व्यवस्थापनका लागि तीन तहका सरकारले हरेक वर्ष विपत् प्रतिकार्य योजना बनाउनु पर्छ । सोही योजनाका आधारमा विपत्का बेला उद्धार, व्यवस्थापन, राहत वितरण र पुनस्र्थापनालगायतका कार्य हुने गर्दछ तर स्थानीय तहसहित प्रदेश सरकारले बेलैमा विपत् प्रतिकार्य योजना बनाएको देखिँदैन ।
प्राकृतिक विपत् बाजा बजाएर नआउने भएकाले विपत् आउनुपूर्व नै विपत् प्रतिकार्य योजना तयार गर्नुपर्नेमा असार लागेपछि बल्ल स्थानीय तहमा यसको सुरसार हुने गरेको देखिएको छ । मनसुन लागेकाले विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको भजनी नगरपालिकाका विपत् व्यवस्थापन शाखाका विष्णु न्यौपानेले बताए। उनले भजनीमा यस वर्षको विपत् प्रतिकार्य योजनाको ड्राफ्ट तयार भइसकेको जनाउँदै अनुमोदन गर्न बाँकी रहेको जनाए । कैलालीमा सबैभन्दा बढी बाढी, डुबान समस्या हुने पालिका भजनी हो । गत वर्ष यो पालिकामा बाढीका कारण दुई हजार ३४२ घरपरिवार प्रभावित भएका थिए । बाढी, डुबानमा परेकाको व्यवस्थापनका लागि सो पालिकामा १७ वटा सुरक्षित भवन निर्माण गरिएको छ । वडा नम्बर ३, ५ र ८ मा ती भवन रहेको न्यौपानेले बताए ।
भजनीपछि जोशीपुर, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकामा पनि मनसुनजन्य विपत्को उच्च जोखिम रहेको छ । यी पालिकाले पनि विपत् प्रतिकार्य योजना बनाइसकेका छैनन् । जोशीपुर गाउँपालिकाका विपत् व्यवस्थापन शाखाका सीता सिंहले विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको बताए । जोशीपुर गाउँपालिकामा गत वर्ष बाढीबाट २१० घरपरिवार प्रभावित भएका थिए ।
मोहना, कान्द्रा, काँढा, पथरैया नदीको बाढीले भजनी, जोशीपुरलगायत जिल्लाको पूर्वी क्षेत्रमा समस्या गर्ने गरेको छ । कर्णाली नदीले टीकापुर नगरपालिका र जानकी गाउँपालिकालाई समस्या पार्दै आएको छ । मोहना, कटैनी, घुरहा नदीका कारण बर्सातमा डुबान समस्या झेल्दै आएको कैलारी गाउँपालिकाले पनि अझै विपत् प्रतिकार्य योजना बनाइसकेको छैन । यस वर्षको विपत् प्रतिकार्य योजना अद्यावधिक गर्न बाँकी रहेको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले बताउनुभयो । जिल्लाको तराई क्षेत्रमा बाढीका कारण डुबान समस्या हुने गरेको छ भने पहाडी पालिकामा पहिरोको समस्या छ । पहिरोका कारण विस्थापित भएका चुरे गाउँपालिकाको १२० परिवारको अझै पुनस्र्थापना हुन सकेको छैन । सो पालिकामा पहिरोबाट ५१८ घरपरिवार प्रभावित भएका थिए ।
चुरेको वडा नम्बर ४ का सउन, बाजी, वनद्वार, वडा नम्बर ५ का काफलगैँडा, पटरेनी, गुणी, खानीडाँडा काफलगैँडा र सल्लेरी, वडा नम्बर ६ को बगेडी, बसडी, गौजना, तल्लो गौजना, तितरेलगायतका गाउँका स्थानीय पहिरोका कारण विस्थापित भएका थिए ।