अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते चार मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या १० बनाएका थिए । मन्त्रालय सङ्ख्या बढाएको आधा महिनामै फेरि घटाएर साविककै सङ्ख्या कायम गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ । सरकारले मन्त्रालय घटाएर साविककै कायम गर्ने निष्कर्षमा पुगेको र चाँडै क्याबिनेटबाट निर्णय गर्ने जलस्रोत तथा सहरी विकासमन्त्री अक्कलबहादुर रावलले बताए ।
एमालेले नमानेका कारण सरकारले मन्त्रालय फुटाएको उनको भनाइ छ । सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएको थियो । मन्त्रालय संख्या बढाइएपछि त्यसको विरोधसमेत भएको थियो ।