अत्तरिया, ९ साउन : कैलालीको गोदावरी नगरपालिका गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चालन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल सरकारले २०७९ माघ २९ गते गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय अनुसार विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । उक्त विधेयक चालु अधिवेशनबाट नै पारित गरी विश्वविद्यालय स्थापना र सञ्चालनको वातावरण बनाउन संघर्ष समितिले आग्रह गरेको छ ।
राज्यबाट सुदूरपश्चिम अहिलेसम्म उपेक्षित पारिएकाले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । सरकारलाई ६ सय शय्या क्षमताको अस्पताल चलाउन र विधेयक समेत पास गर्न ज्ञापनपत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्रलाई संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) र सचिव धर्मसिंह कुँवरसहितका समितिका सदस्यहरूले ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी मिश्रले उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए ।
सम्बन्धित पाेस्टहरु