आज राति भारीदेखि अति भारी वर्षाको सम्भावना

अत्तरिया : मंगलबार राति पनि देशभर वर्षाको आकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन सक्रिय रहेकाले सातै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

‘२४ घन्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा भन्छौँ, आज राति पनि धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘हामीले सोमबार रेडअलर्ट जारी गरेका ३४ जिल्ला र अन्यत्र पनि जोखिम छ।’ महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा अति भारी वर्षाको चेतावनी दिएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षा भइरहेका र उच्च जोखिममा रहेका ३४ जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाइसकेको छ। ती जिल्लामा बुधबारसम्म रात्रिबस चल्ने छैनन्। बुधबार पनि देशभर वर्षाको आकलन गरिएको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन छ। बिहीबारबाट भने वर्षा केही थामिने मौसमविद् कँडेलले बताइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.