थारु समुदायमा गुरही पर्वको उल्लास

अत्तरिया : पश्चिम नेपालको थारु समुदायमा गुरही (गुरिया) पर्वको उल्लास छाएको छ । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ । विगतको वर्षमा झैँ यो वर्षमा पनि संघीय राजधानीमा बसोबास गर्दै आएका थारुहरू आपसमा खुसीयाली साटासाट गरी पर्व मनाउने तयारीमा जुटेका छन् । गुरही तयारी समिति ०८१ का सल्लाहकार डा. कृष्णराज सर्वहारीका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठाको सभा हलमा नागपञ्चमीको अवसरमा आज शुक्रबार थारु आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्यमा झाँकीसहित कार्यक्रम गर्ने तयारी गरिएको छ ।
गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलन अनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ । पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबिचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारु बुद्धिजीवीहरूको भनाइ छ ।
पछिल्लो समय गुरही पर्व औपचारिक रूपमा मनाउन थालिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौकमा भव्य रूपमा गुरही कार्यक्रमको आयोजना गरिएको छ ।
आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष उन्नति चौधरीले विगत १५ वर्षदेखि नियमित रूपमा औपचारिक रूपमा विभिन्न कार्यक्रम गरी गुरही पर्व मनाउँदै आएको बताइन् । पर्वको पूर्वसन्ध्यामा विहीबार गुरही चोकमै आयोजकले रक्तदान कार्यक्रम गरेका छन् । शुक्रबार साँझ भने ‘गुरही असरैना कार्यक्रम’ राखेको आयोजकले जनाएको छ । गुरही पर्वको अवसरमा गोदावरी लगायतका पालिकाले सार्वजनिक विदा पनि दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.