Agni Offset Press

आज नागपञ्चमी पर्व मनाईदैँ

Aarati simant

अत्तरिया : हिन्दू धर्मशास्त्रअनुसार (आज) शुक्रबार नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ ।
ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गरिन्छ । ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रीहरू बताउँछन् । यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ ।
यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।

नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ । त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भनेर शास्त्रमा उल्लेख गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.