Agni Offset Press

कैलारीमा मोहना नदीमा अझै हटेन डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता

Aarati simant

धनगढी : कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् ।

नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन । सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् ।

मोहनपुरवासी भितरियाघाट र शिवरत्नपुरवासी खोनपुर घाट भएर ओहोरदोहोर गर्छन् । दुवै घाटमा झोलुङ्गे पुल नबनेकाले मनसुन अवधिभरिका लागि प्रत्येक साल डुङ्गा सञ्चालन हुँदै आएको छ । नदीमा ठुलो बाढी आएमा डुङ्गा सञ्चालनमा पनि समस्या हुने गरेको छ । बाढी आउँदा जोखिम थपिने गरेका कारण ओहोरदोहोर नै बन्द हुने गरेको छ । डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यताको बढी मार विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामीलगायतले खेपिरहेका छन् ।

यी दुवै गाउँमा स्वास्थ्य चौकी, आधारभूत तहसम्म पढाइ हुने विद्यालय छैनन् । अध्ययन तथा उपचारका लागि विद्यार्थी स्थानीय मोहना नदी पार गरेर हसुलिया, के गाउँ र भितरिया पुग्ने गर्छन् ।

बर्खायाममा विद्यालयसम्म पुग्नका लागि आफूहरूले ठुलै कष्ट भोग्नुपर्ने बाध्यता रहेको के गाउँस्थित जनकल्याण माविको कक्षा १० मा अध्ययनरत छात्रा महिमा चौधरीको भनाइ छ । नदीमा पुल नबन्दा कतिपय बालबालिकाको भविष्य नै अन्धकार बनेको उनले बताए ।

विद्यार्थी महिमाले भन्नुभयो, “पुल नभएका कारण कतिपयले बिचमै विद्यालय छाड्ने गरेका छन् । गाउँमा ५ कक्षासम्मको अध्ययन पूरा गरिसकेपछि उनीहरूको पढाइमा पूर्णविराम लाग्ने गरेको छ ।” कक्षा १० मै अध्ययनरत छात्रा आशिका चौधरीका अनुसार कतिपय विद्यार्थी भितरिया, के गाउँ र हसुलियातिर आफन्तकोमा आश्रय लिएर विद्यालय जाने गरेका छन् ।

खोनपुरघाटमा निर्माण थालिएको झोलुङ्गे पुलको एकातर्फको पिल्लर बाढीले बगाएपछि पुल निर्माणको काम अलपत्र परेको छ । यसै गरी भितरियाघाटमा निर्माण थालिएको झोलुङ्गे पुल पनि बनेको छैन ।

ठेकेदारले यसै वर्ष पुल निर्माण सम्पन्न गर्ने वाचा गरे पनि निर्माणमा भएको ढिलाइका कारण स्थानीय जनता डुङ्गा तर्न बाध्य रहेको वडाध्यक्ष सन्तराम चौधरीको भनाइ छ । उहाँले झोलुङ्गे पुल निर्माणमा निर्माण कम्पनीबाट लापर्बाही भइरहेको उल्लेख गर्नुभयो । “निर्माण कम्पनीले पुल बनाउने सामग्री झारेको छ तर काम भएको छैन,” वडाध्यक्ष चौधरीले थप्नुभयो, “यो पुल बन्छ या बन्दैन, त्यसको पनि केही निश्चित छैन ।”

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.