Agni Offset Press

व्यक्तिगत कारोबारको जिम्मेवारी संस्थाले लिँदैन : अपि सैपाल

Aarati simant

अत्तरिया, २८ साउन : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था सुरक्षित भएको दावी गरेको छ । सोमबार संस्थाकै कार्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्ष बसन्त रोकायाले वास्तविकता बजार र मिडियामा आएको भन्दा फरक रहेको दावी गरेका हुन् ।
‘बजारमा र मिडियामा केही कुरा आएको छ । संस्थामा कार्यरत कर्मचारी बिना (चौधरी) योगी संग जोडिएको संस्थागत पैसा ८ लाख मात्रै हो । त्यो पनि उनले ऋण लिएको ३ लाख र अन्य बचतकर्ताको हो । त्यो हामी उठाउँछौ नै अब उनले बाहिर गरेको कारोबारको जिम्मेवारी संस्थाले लिन सक्दैन,’ अध्यक्ष रोकायाले भने ।
यस्तै उनले संस्थागत केही कमि कमजोरी भए आफुहरु सच्च्याउन तयार रहेको बताए । ‘१५ बर्ष पुरानो संस्था हो र यो सबैको संस्था पनि हो । बाहिर बजारमा हल्ला गरिए जस्तो अवस्था होइन । त्यसैले अरु कुरा भन्दा पनि बचतकर्ताको पैसा सबै सुरक्षित नै छ । कतिपय कुरामा बचतकर्ता स्वयं सजग बन्नु पर्छ,’ उनले भने ।
संस्थाका ऋण संयोजक बालकृष्ण प्रसाईंले कार्य समितिका कुनै पनि पदाधिकारीले ऋण नलिएको दाबी गरे । ‘कार्य समितिले ऋण लिन पाउँदैन । महिनामा एक पटक हुने बैठक भत्ता बाहेक अरु लिन नपाउने हाम्रो कानुनमा नै छ । त्यसैले बाहिर त हल्ला कार्य समितिका मान्छेहरुले पैसा लिएर चलाएको भन्ने पनि होला तर त्यो सत्य होइन,’ उनले भने ।
ऋण लिँदा पनि सबै प्रक्रिया पुगाएर मात्रै दिने गरेको उनले बताए । बजारमा पैसा उठाएर सम्पर्क बिहिन भएको भनिएकी बिनालाई संस्थाले असारमै निलम्बन गरिसकेको संस्थाले जनाएको छ । बिना अपि सैपालको सबै भन्दा पुरानो कर्मचारी हुन । उनले बजारमा उठाएको पैसा कसरी र कुन प्रयोजनको लागि लिइएको हो भन्ने आफुहरुलाई थाहा नभएको अध्यक्ष रोकायाको भनाई छ । बिनाको खोजीको लागि संस्थाले कानुनी प्रक्रिया अपनाइसकेको जनाएको छ ।
अपी सैपापमै लामो समयदेखि कार्यरत कर्मचारी योगीले गोदावरी नगरपालिका क्षेत्रका व्यवसायीहरुको झण्डै ३ करोड रकम उठाएर फरार भएको हल्ला भएपछि संस्थाले प्रष्टिकरण दिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.