धनगढीमा भदौ ८ देखि गौरा महोत्सव, प्रथम पुरस्कार ११ हजार १११ रुपैयाँ

अत्तरिया, २ भदौ : धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति धनगढी कैलालीको संयुक्त आयोजनामा गौरा महोत्सव हुने भएको हो ।
आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी यहीँ भदौ ८, ९ र १० गते धनगढी उपमहानगरपालिका–९ स्थित पुरानो एयरपोर्ट खुल्ला मञ्चमा नवौँ संस्करणको गौरा महोत्सव आयोजना गरिने जनाएको छ ।
विद्यायालयस्तरीय डेउडा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ११ हजार १ सय ११, ७ हजार ७ सय ७७, ५ हजार ५ सय ५५ र ३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम गौरा महोत्सवका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताए । उनका अनुसार गौराको महत्व झल्किने धार्मिक परम्परागत मौलिक प्रस्तुतिमा विशेष जोड दिइनेछ । चैत, धमारी, ढुस्को, भारीखेल लगायतका प्रस्तुतिहरू महोत्सवमा प्रस्तुत गरिने उपकुलपति जोशीले बताए ।
विविध मालिक झाँकीहरूको प्रदर्शनी, लोक बाजाहरूको प्रदर्शनी, नव प्रतिभा प्रवद्र्धन गरिने छ । ‘यस वर्षबाट नयाँ र पृथक अभ्यासमा विद्यालयस्तरीय डेउडा प्रतियोगिता आयोजना गर्नेछौँ, जोशीले भने, ‘जसबाट विद्यार्थीहरूलाई आफ्न संस्कृतिप्रतिको अपनत्वबोध र संस्कृतिप्रति आकर्षित हुनुका साथै लोक संस्कृति पुस्तान्तरण हुँदै जानेछ भन्ने विश्वास लिएका छौँ ।’
यसका साथै गौरा महोत्सवमा सुदूरपश्चिम प्रदेशका चर्चित कलाकारहरूका गायन, नृत्य लगायतका प्रस्तुतिहरू रहनेछ । चर्चित प्रत्यक्ष डेउडियाहरुका भारी खेल प्रस्तुत हुने आयोजकले जनाएको छ । आयोजकले विद्यालयस्तरीय देउडा प्रतियोगिताका लागि केही नियम पनि बनाएको डेउडा प्रतिष्ठान कैलालीका अध्यक्ष दलबहादुर बोगटीले बताए । उनका अनुसार डेउडा गीतहरू कुनै पनि मौलिक भाकामा गाउन सकिने र शब्दहरु निर्माण गरेर गाउन मिल्नेछ । डेउडा गीतहरू सिर्जना गरेर लेखेर छात्र र छात्रा दुवै पक्षबाट गाउने मिल्ने र प्रस्तुति कम्तीमा १२ मिनेट र बढीमा १५ मिनेटभित्र सकाउनुपर्नेछ । विद्यालयले कम्तीमा १० र बढीमा १६ जना विद्यार्थी डेउडामा सहभागिता गराउन सक्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.