
अत्तरिया, ६ साउन : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा गौरा पर्व बिशेष मेला हुने भएको छ । गौरा विशेष मेला विश्वनाथ महादेव मन्दिर परिसरमा हुन लागेको हो ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी गौरा पर्व मेला समितिका संयोजक गोपाल देउवाले भदौ १० गते बाट १६ गते ७ दिन सम्म मेला सञ्चालन हुने जानकारी दिए ।
गौरा मेला समितिका संयोजक गोपाल देउवाले संस्कृति संरक्षणका लागि गौरा मेला लाग्ने भएको बताए । गौरा मेला विशेष गरी स्थानीय महिलाहरुलाई समेटेर उपसमिति बनाउने र यस क्षेत्रका महिलाहरुले उक्त मेला अवधि भरी आफ्नो देउडा प्रस्तुति गर्ने छन् । स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएर ३ दिन सम्म विभिन्न प्रस्तुति गराउने साथै ४ दिन सुदूरपश्चिम प्रदेशमा रहेका ९ वटै जिल्लाका चर्चित डेउडा कलाकारहरुलाई आमन्त्रित गराएर प्रस्तुति रहने जनाएको छ ।
देउवाले यस क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरूलाई पनि संस्कृतिको जगेर्ना गर्न निम्ति सहभागी गराएर उनीहरु भित्र भएको कलालाई प्रदर्शनी गराउने बताए । उनले रीतिरिवाज, संस्कृति जोगाउनका निम्ति सञ्चालन गरिने गौरा मेलामा यस क्षेत्रका समाजसेवी, बुद्धिजिवि, व्यवसायी, लगायत सम्पूर्ण सुदूरपश्चिम बासीहरुले सफलतापूर्वक कार्यक्रम साथ दिई सफल पार्न आग्रह गरे । ७ दिन सम्म संचालन हुने गौरा मेलामा २ देखि ३ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ ।
