Agni Offset Press

सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डलाई छटपटी भइरहेको छ : महासचिव पोखरेल

Aarati simant

अत्तरिया : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।
धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताए । सरकार गठन भएको सय दिन नपुग्दै प्रचण्डले संसदमा दिएको अभिव्यक्ति पूर्णता असंसदीय र अराजनीतिक रहेको भन्दै महासचिव पोखरेलले त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भएको बताए ।
माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए । तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनले बताए । दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भएको स्मरण गर्दै उनले त्यो हिंसा मात्र नभई आतंक पनि रहेको बताए । यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए ।
महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाए । पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । अनुसन्धानलाई नै रोक्ने गरी भइरहेका गतिबिधि कानुनी राज्यमाथिको उपहास रहेको भन्दै उनले कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्नेमा जोड दिए । जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नहुने उनको तर्क छ ।
सामाजिक सञ्जालका कारण आमसञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.