आर्थिक मामिला मन्त्रालयले पठायो मार्गदर्शन

अत्तरिया : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालयहरुलाई बजेट कार्यान्पयन सम्बन्धी मार्गदर्शन पठाएको छ । प्रदेश सभाले असोज ६ गते पारित गरेकाने प्रदेश सरकारको आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि असोज ८ गते राजपत्रमा प्रकाशित भएको थियो ।

आर्थिक मामिला मन्त्रालयले असोज ९ गते बुधबारका दिन मार्गदर्शन पठाउँदै मन्त्रालयहरु र मातहतका कार्यालयहरुमा कार्यान्वयन हुने बजेट कार्यान्वयनको मार्गदर्शन बनाई बजेट कार्यान्वयन गर्न मार्ग दर्शन गरेको हो । यससंगै सुदूरपश्चिम प्रदेश सरकारको साउन १ गतेदेखिको बजेट शुन्यता अन्त्य भएको छ ।

आर्थिक मामिला मन्त्रालयले मन्त्रालयहरुलाई मन्त्रालय तथा मातहतका निकायको स्वीकृत वार्षिक विकास कार्यक्रममा कुनै आयोजनारकार्यक्रम दोहोरो परेको खण्डा एउटा आयोजना\कार्यक्रम मात्र कार्यान्वयन गरी बाँकी रहेका आयोजना\कार्यक्रम कार्तिक मसान्तभित्र समर्पण गर्न मार्गदर्शन गरेको छ । एउटै अनुदान संख्याभित्रका बजेट उपशिर्षकमा रकमान्तर गर्दा जतिसुकै रकम रकमान्तर गर्न सकिने पनि मार्गर्शन गरिएको छ ।

प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रमलाई नै स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी प्रदेश लेखा नियन्त्रक कार्यालय र सम्बन्धित प्रदेश लेखा ईकाई कार्यालयले कार्यान्वयन ईकाईलाई बजेट निकास गर्न आर्थिक मामिला मन्त्रालयले मार्गदर्शन गरेको छ । मन्त्रालयले एउटै पालिकाभित्रका समान प्रकृतिका सार्वजनिक निर्माण कार्यहरु समूहिकृत गरी यथासम्भव मुल्यमा प्रतिस्पर्धा गराई कार्यान्वयन गर्न मार्गदर्शन गरेको छ । यसैगरी, प्रदेश गौरव र बहुवर्षीय कार्यक्रम बाहेक अन्य आयोजना तथा कार्यक्रम २०८२ जेठ मसान्तभन्दा पछाडि कार्यान्वयन गर्ने गरी सम्झौता नगर्न मार्ग दर्शन गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयहरुलाई बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनको आधारमा मन्त्रालय वा अन्य निकायबाट बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन तयार गरी यथाशीघ्र आफू मातहतका निकायमा पठाउन र सोको जानकारी दिन निर्देशन गरेको छ । विषयगत मन्त्रालयहरुलाई तेस्रो त्रैमासिकसम्म खरिद प्रक्रिया शुन नभएका वा बाँकी अवधिमा कार्यान्वयन नहुने आयोजना २०८१ चैत मसान्तभित्र अनिवार्य रुपमा समर्पण गर्न मार्गदर्शन गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.