अत्तरिया : यस वर्षको प्रतिक्षितमध्येको फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म रिलिजको पाँच दिनअघि आज बेलुका ट्रेलर सार्वजनिक गरिएको हो । यस श्रृंखलामा पनि दीपकराज गिरी राजा पात्रको भूमिकामा छन् । केदार घिमिरे माग्ने बुढाको भूमिकामा छन् । शीर्ष अभिनेत्रीको भूमिकामा वर्षा सिवाकोटी छिन् । यस शृंखला कर्मचारीतन्त्र र राजनीति वरपर घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।
यसअघि लुकाइएका फिल्मका अन्य कलाकार ट्रेलरमार्फत जानकारी दिइएको छ । फिल्ममा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ ।
सोसल–कमेडी जनराको ‘छक्का पञ्जा’ को यो शृंखलालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरीको पटकथा रहेको फिल्मको कथा र संवाद लेखन दीपक, केदार घिमिरे र दिलीप तामाङले गरेका हुन् । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार घिमिरे छन् । फिल्म फूलपातीको दिन अर्थात असोज २४ गते बिहीबार रिलिज हुँदैछ ।
सम्बन्धित पाेस्टहरु