कैलाश जोशी
अत्तरिया, २१ असोज : कैलालीको गोदावरी नगरपालिका–११ ओलानीकी १४ बर्षीय स्नेहा लामेछाने कक्षा ९ पढ्छिन । उनलाई शारीरिक शिक्षा तथा यौनका कुरा बारे पूर्णज्ञान छैन् । ‘घरमा आफ्नो नजिकको मान्छे मम्मी या कसैसंग यौनका कुरा गरे समाजमा गलत अर्थ लगाउने गर्छन् । यौन शिक्षाका बारेमा विद्यालयमा त्यस्तै छुटै शिक्षा छैन् ।’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । ‘यसले गर्दा किशोर भन्दा पनि किशोरीहरु अझ समस्यामा छौँ । पहिलो पटक पिरियड अर्थात महिनाबारी हुँदा धेरै अप्ठ्यारो महशुष गर्नुपर्यो । त्यसले गर्दा हप्ता दिन विद्यालय नै रोक्नुपर्यो ।’ उनले यौन शिक्षाका बारेमा कुरा गर्दा छोरी मान्छे विग्रियो भन्नेसम्मका आरोप लाग्ने गरेको बताईन् । ‘हुन त गोदावरी नगरपालिका हो । तर, वडा नम्बर ११ दुर्गम भएको हुँदा सबै सचेत भईसकेको छैन् । यौनका कुरा खुलेर गर्ने वातावरण अझै भएको छैन् । यौन शिक्षाको बारेमा कसैसंग जिज्ञासा राख्दा तिम्रो छोरी विग्रियो भन्ने खालका घरमा कुरा पुग्छन ।’ यौनजन्य रोगबाट कसरी बच्ने देखि आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने कुरा शिक्षा कहाँबाट लिने उनले अनविज्ञता प्रकट गरिन् ।
आफ्नो स्वास्थ्मा समस्या आउँदा कोसंग भन्ने केहि पनि थाह नभएको सोहि वडामा बस्ने १५ बर्षीय किशोरी जमुना विकले सुनाईन् । ‘स्वास्थ्य समस्या हुँदा कसैसंग खुलेर भन्न सक्ने अवस्था छैन’ उनले भनिन् । अन्य ठाउँ विद्यालय, घरमा मात्र होइन किशोर–किशोरीमैत्री स्वास्थ्यचौकी नहुँदा आफूलाई लागेको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी भन्न सक्ने अवस्था नभएको उनले बताईन् । ‘स्वास्थ्यचौकीमा समेत किशोर–कीशोरीलाई आफ्नो कुरा निर्धक्क तरिकाले भन्न सक्ने वातावरण छैन्’, उनले भनिन् । ‘उमेर अनुसार स्वास्थ्यमा हुने परिर्वतनका कुरा जान्नेहरुका केहि सहज होला । दुर्गम ठाउँ जहाँ यौन तथा शारीरिक परिर्वतनका कुरा गरेमा छोरा–छोरी विग्रियोसम्मका आरोप लाग्छन् । यहाँ धेरै जटिल छ ।’
कीशोर अवस्थामा हुने परिर्वतनका बारेमा पूर्णरुपमा थाह हुन नसकेको गोदावरी–४ बुढीतालोका कक्षा १० मा अध्ययनरत १५ बर्षीय विद्यार्थी टेकेन्द्र भट्टराईले बताए । ‘विद्यालयमा पढाई हुँदैन् । साथिहरुसंग अुनभव आदानप्रदान गर्दै केहि कुरा थाह भएको छ । उमेर पुगिपछि मात्र विवाह गर्नुपर्छ भन्ने कुरा थाह भएको छ’, उनले भने ‘त्यो भन्दा बढी थाह हुन सकेको छैन् ।’ यौन शिक्षाका बारेमा विद्यालयमा त्यस्तै छुट्टै पाठ्यक्रम नभएको उनले बताए ।
किशोरावस्थाका लक्षण समाधान र सल्लाहका लागि स्वास्थ्यचौकी सम्म जानुपर्दछ भन्ने आफुलाई थाह नभएको उनले बताए । किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने ज्ञान अभिभाकमा हुन आपश्यक रहेको उनले अनुभव सुनाए । ‘हामीसंगै पढ्ने साथि विवाह गरेर भागेर गएका पनि छन् । यो सबै कुरा रोक्नका यौन शिक्षाका बारेमा पूर्ण ज्ञान नहुँदा नै हुने गरेको छ’, उनले भने ‘यसले गर्दा स्वास्थ्य नै जोखिममा पर्छ ।’
किशोर अवस्थामा यौन तथा प्रजनन बारेमा बढी जिज्ञासा हुने र खुलेर राख्ने थलो कत्तै नहुने गरेको बुढीटोलाकै १६ बर्षीय अर्का कीशोर अमर बोहराले बताए । परिवार, विद्यालय र समाजमा यौनिकताको बारेमा खुलेर बहस तथा छलफल गर्ने अवस्था अझै पनि सिर्जना भई नसकेको अवस्थाको कारण समाजमा नकारात्मक घटनाहरू बढ्दै गईरहेको उनले अनुभव सुनाए । ‘समाजमा कीशोर–कीशोरीहरु एक ठाउँमा बस्नु नै हुँदैन भन्ने बुझाई भएको देखिन्छ’, उनले भने ।
प्रजनन् शिक्षाका बारेमा गाँउमा कीशोर–कीशोरीलाई मात्र होइन घरका आमा बुबालाई समेत सचेत गराउन आवश्यक रहेका गोदावरीको मालाखेती अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज यशोदा ढकालले बतईन । ‘कतिपयमा सानो उमेरमा गरिने विवाहले आमा, बच्चा र परिवारकै भविश्य बिग्रन्छ सम्म अझै ज्ञान भएको छैन्’, उनले भनिन, ‘शरीरका सबै अंग पूर्णरुपमा विकसित भएपछि विवाह गर्न सन्तान जन्माउन र परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिन आश्यक छ ं।’ स्वास्थ्य संस्थामा बिरामीले मात्र जान्छन भन्ने सोच रहेको उनको भनाई छ ।
‘यो एउटा किशोरा अवस्था हुन्छ, जसको यौन तथा प्रजनन प्रक्रियाहरू परिवर्तन हुँदै जान्छ र किशोर–किशोरी पनि उत्तिकै जिज्ञासु हुन्छन’ उनले भनिन् ‘यो विषयमा उठेका कौतहुलता र जिज्ञासालाई मेटाउन सकिएन् भने नकारात्मक घटनाहरू हुने गर्छन् ।’ यौनिकताको बारेमा उचित शिक्षा र चेतनाको अभाव रहेको उनले बताईन । यौनिकता शिक्षाको बारेमा धेरैलाई जानकारी नहुँदा शिक्षकको माध्यमबाट शिक्षा प्रदान गर्न आवश्यक रहेको उनले उनले उल्लेख गरिन ।
‘अझै पनि अधिकांश विद्यालयहरूका शिक्षकहरूले खुलेर विद्यार्थीहरूसँग यौनिकतासम्बन्धी शिक्षा प्रदान गर्न नसिकेका कुराहरू बाहिर आउँछन’ नर्सिङ इन्चार्ज ढकालले भनिन् ‘शिक्षकहरूलाई यौनिकता सम्बन्धी तालिम प्रदान गरियो भने धेरै विद्यार्थी, परिवार र समाजसँग पुग्न सक्छ ।’
‘हाम्रा समाज अझै पनि यौनका बारेमा कुरा गर्दा पचाउन सक्ने वातावरण भएको छैन् । विद्यालयमा ‘यौन तथा प्रजनन’ स्वास्थ्यको विषयमा पढाइ हुँदा सहरमा केहि सुधार भएको होला दुर्गममा छात्रहरू हाँस्ने, छात्राहरू लाजले घोप्टो पर्ने, शिक्षकहरू खुलेर पढाउन नसक्ने वातावरण कायमै छ’ उनले भनिन् ‘अब यो विषयमा शिक्षकहरूले ध्यान दिन जरूरी छ ।’
किशोर–किशोरीको उमेरमा मुड अस्थिर हुने हुँदा सही निर्णय लिन नसक्ने, ध्यान केन्द्रित नहुने, सजिलै विश्वास गर्ने आदि जस्ता व्यवहार देखाउँछन । तसर्थ, त्यसको सम्बोधन हुनु जरुरी छ । यस्तो अवस्थामा अभिभावकले उनीहरूको स्वास्थ्यबारे विशेष ख्याल गर्नुपर्ने अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यामिक विद्यालयका प्राचार्य शिवराज जोशी बताउन्छन । विशेषगरी, १० देखि २४ वर्षसम्म मानसिक स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ ।
यो उमेरसमूहका कतिपयले स–साना कुरामा झर्किने, बुबाआमासँग सधैँ विवाद गरिराख्ने, घरमा सधैँ कोठाभित्र चुकुल लगाएर मात्रै बस्ने, आफ्नो सामान स्याहार नगर्ने, हदैसम्मको हेलचेक्र्याइँ पनि गर्छन ।
‘अभिभावक र छोराछोरीबीच ग्याप हुन्छ । राम्रो पारिवारिक वातावरण हुँदैन । अभिभावकले जेनेरेसन ग्यापले गर्दा यस्तो भएको होला भनेर सोच्छन । तर, जेनेरेसन ग्यापले मात्रै हुन्छ भन्ने हुँदैन । उनीहरू विभिन्न प्रकारको मनोवैज्ञानिक समस्याबाट ग्रसित भएका हुन सक्छन’, प्राचार्य जोशी भन्छन् । ‘उनीहरूलाई सामान्य महसुस गराउन अभिभावकले कुरा गर्ने, समस्या सुन्ने, सल्लाह दिने गर्नुपर्छ । यो अवस्थामा व्यक्तिमा मिश्रित किसिमको मनोभावना विकसित हुने हुँदा अभिभावकको सल्लाह निकै महत्वपूर्ण हुन्छ ।’
किशोर–किशोरीहरू हामीले गर्ने दैनिक क्रियाकलापबाट समेत निकै प्रभावित भइरहेका हुन्छन । उनीहरूलाई घरको महत्वपूर्ण सदस्य हुन् भन्ने महसुस गराउनुपर्छ । किशोरावस्थामा धेरै गल्ती दोहोरिरहेका हुन सक्छन । जुन अभिभावकलाई मन नपर्न सक्छ, तर उनीहरूको मानसिक अवस्था बुझेर आफूलाई रोलमोडल बनाएर सल्लाह र सहयोग दिनु बढी महत्वपूर्ण हुनसक्छ । किशोरावस्था भनेको स्वतन्त्रता पनि हो, यसर्थ उनीहरूलाई उचित समय र ठाउँ पनि दिनुपर्छ ।
वयस्क र किशोरावस्थाको विचार फरक हुने गर्छ । उमेर, ज्ञान र भोगाइका कारणले उनीहरूकोे सोच्ने तरिका पनि अभिभावकभन्दा निकै फरक हुन्छ । तर, उनीहरूको कुरा शान्त भएर सुन्नुपर्छ । कुनै समस्याका विषयमा कुरा गर्दा सामान्य ढंगबाट सम्झाउनुपर्छ । अभिभावकको प्रतिक्रियाले उनीहरूको धारणामा निकै ठूलो प्रभाव पार्ने हुँदा सजग हुन जरुरी हुन्छ ।
किशोर–किशोरीले सामान्य समस्या आफैँले समाधान गर्ने बानीले भविष्यमा आत्मनिर्भर बनाउँदै लैजान्छ । यस्तो कुरा अभिभावकले बुझाउन सक्नुपर्छ । निर्णय लिने, काम गर्ने, सम्बन्ध वा अन्य विषयमा उनीहरू स्वयंलाई सोच्ने समय दिनुपर्छ । यसका लागि अभिभावकले उनीहरूको भवनालाई ध्यानपूर्वक सुन्न सक्नुपर्छ । उनीहरूको भावना र भोगाइ सुन्न सकिन्छ, जसले उनीहरूमा बिस्तारै समस्या समाधानको सीप विकास हुँदै जान्छ । अभिभावकले स्वतन्त्रतासँगै आत्मनिर्भर बन्न हौसला दिन सके किशोरावस्थामा शारीरिक र मानसिक विकास सहज हुने गर्छ ।
किशोर–किशोरीलाई अभिभावकले अरूसँग तुलना गर्नुहुँदैन । यसले उनीहरूमा हीनताबोध, निराशा र आत्मविश्वासको कमी गराउँछ । उनीहरूका लागि परिवार नै रोलमोडल हो । परिवारभित्रका दुःख र बाध्यता उनीहरूसँग छलफल गर्नुपर्छ । यसले उनीहरूलाई जीवनशैली सिकाउँछ । परिवारले कसरी समस्या समाधान गर्छ भन्ने सीपले उनीहरूलाई जीवनमा कठिनाइ कसरी पार गर्ने भनेर परिपक्व बनाउँछ । अभिभावकले सन्तानसँग अपेक्षा राख्नु र सन्तानले पनि अभिभावकसँग अपेक्षा गर्नु कुनै अपराध होइन । गोदावरी नगरपालिकाले किशोर–कीशोरीका शिक्षाका लागि कुनै पनि कार्यक्रम समावेश नगरेको जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले किशोर–किशोरीका लागि कुनै बजेट या कार्यक्रम नरहेको जानकारी दिए ।
सानै उमेरमा आमा
गोदावरी नगरमा उमेर नपुग्दै विवाहको संख्या पनि उत्तिकै मात्रामा रहेको छ । उमेर नपुग्दै विवाह गर्दा स्वास्थ्य नै जोखिममा पर्ने गरेको छ ।
गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा गत आर्थिक वर्ष २०८०\८१ मा २३५ जनाले सुत्केरी सेवा लिए । यसमा ४२ जना २० वर्ष मुनिका छन् । यो संख्या झण्डै १८ प्रतिशत हो । मालाखेती अस्पतालकी नर्सिङ इन्चार्ज यशोदा ढकालका अनुसार २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको संख्या आर्थिक वर्ष २०७९\८० मा झण्डै १४ प्रतिशत थियो ।
आर्थिक वर्ष २०७९÷८० मा यस अस्पतालमा ३ सय ९७ जना सुत्केरी भएकोमा ५७ जना २० वर्ष मुनिका थिए । गत वर्ष १३ वर्षीय किशोरीले समेत बच्चा जन्माएको मालाखेती अस्पतालकी नर्सिङ इन्चार्ज ढकालले बताईन् । २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउनेहरु अधिकाशंले भागेरै बिहे गरेको देखिने उनी बताँउछन् । कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहन्छ । महिला र पुरुषको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रावधान भए पनि यहाँ भने लागु हुनसकेको छैन । कानुन अनुसार बालविवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था रहे पनि व्यवहारमा भने कडाइ गरेको पाइँदैन । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ । उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ ।
कलिलै उमेरमा विवाह गर्ने किशोरी र उसबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाहहरू सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ । बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ । बाल विवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक र यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुने गरेको पाइन्छ ।
सम्बन्धित पाेस्टहरु