थारु गाउँमा सखियाको रौनक

अत्तरिया : सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको चहलपहलसँगै थारु बस्तीमा सखिया नाचको रौनक बढेको हो। यो समुदायमा विशेष गरेर दसैँमा सखिया नाच नाच्ने गरिन्छ। दसैँको बेला गाउँको रौनकता बढाउनका लागि हरेक वर्ष सखिया नाच नाचिने गरेको धनगढी उपमहानगरपालिका–५ जाईका भलमन्सा कुलवीर चौधरीले बताए। उनले सखिया नाचले गाउँ चम्पन हुने गरेको उल्लेख गरे।

जाईमामात्रै नभई, अन्य गाउँमा पनि बालिकादेखि लिएर वयस्क महिलासम्म एकसाथ सखिया नाच नाचिरहेका छन्। यति बेला थारु बस्तीमा सखियाको पैयाँ लगाउँदा मादल र मजिराको आवाजले छुट्टै रौनक थपिएको छ। आफ्नो मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउनका लागि आफूहरूले सखिया नाच्ने गरेको जाईकी दिलमाया चौधरीले बताए । “यसो गर्दा रमाइलो पनि हुन्छ र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण पनि”, उनले भनिन,“हामी जानेकाले नै नयाँ पुस्तालाई सिकाउने हो। त्यो काम हामीले गरिरहेका छौँ।”

महिलाहरूले मादलको तालमा मजिरा बजाउँदै सखिया नाच नाच्ने गर्दछन्। यो नाचमा सुरुमा गीत गाउने गरेको उल्लेख गर्दै मादल वादक स्थानीय रामप्रसाद दहितले भने ,“त्यसपछि रमाइलोका लागि पैयाँ लाग्ने गरिन्छ।”

सखिया नाच कृष्ण लीलामा आधारित गीत गाएर नाच्ने गरेको जनाइएको छ। यो नृत्य अट्वारी पर्व सकिएपछि नै सुरु गर्ने गरिए पनि कार्यव्यस्तताका कारण अचेल दसैँको अवसरमामात्रै नाच्ने गरिएको स्थानीय देउमति चौधरीले बताए। कृष्ण लीलाको गीत सकिएपछि सखिया नाच्ने कार्य पनि सम्पन्न हुने गरेको उनले उल्लेख गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.