बैतडी : खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् । सरकारले ७८ करोड रुपियाँ खर्च गरेर सडक पु-याएपछि दुर्गम गाउँमा गाडी देख्नेबित्तिकै प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेर बसेकी २० वर्षीय रविना चन्द (रुबी) सार्वजनिक सवारी चलाउने जिल्लाको पहिलो महिला सवारीचालक बन्नुभएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
पञ्चेश्वर गाउँपालिका–४, निङ्लाडकी २० वर्षीय रुबी चन्द (रविना) पालिकादेखि प्रदेश राजधानीसम्म सार्वजनिक यातायात चलाउँदै आउनुभएको छ । रुबी वैधानिक हिसाबले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेर सार्वजनिक यातायात चलाउने सवारीचालक बनेकी हुन् । पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी वहन गर्न यो पेसा थालेको हो । रुबीले चलाउँदै आएको म १ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर हिँड्ने गरेको छ ।
पाटन–पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएपछि अहिले पञ्चेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । सडक पुगेपछि यहाँ अहिले दैनिक १० : १५ वटा सवारीसाधन चल्ने गरेका छन् । तीमध्ये रुबी एक्ली महिला सवारीचालक बनेकी छन । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारीचालक अनुमतिपत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभवन सुनाए ।