अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ । नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट र इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले नगर परिसरमा आज (सोमबार) सामूहिक रुपमा १६ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घघाटन गरेका हुन् ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक थापाले इलाका प्रहरी कार्यालय मालाखेतीमा आएका लैङ्गिक हिंसाका उजुरीबारे जानकारी गराएका थिए । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आजदेखि उक्त अभियान सञ्चालन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले महिलामाथी विभीन्न किसिमले हुने हिंसा अन्त्य हुनुपर्ने बताईन् ।
उनले महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने भन्दै महिला र पुरुषलाई समान नजरले हेर्नुपर्ने बताईन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी महिला विकास निरीक्षक प्रेमा बडुले विभिन्न गैर सरकारी संस्थाहरु संगको सहकार्यमा १६ दिनसम्म नगरपालिकाका विभीन्न विद्यालयहरु जनचेतनामुलक कार्यक्रम गर्ने तथा स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री प्रकाशनरप्रसारण गर्ने योजना रहेको बताइन् ।
उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, इलाका प्रहरी कार्यालय मालाखेती, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको हो । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३३ वर्ष भइसकेको छ ।