अत्तरिया, १५ मंसिर : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार धनगढीमा सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री वीरबहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि थापाले केहि समय यता नागरिकहरुमा सहकारीप्रतिको बुझाइ गलत रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए । ‘केहि गलत मनसाय भएका व्यक्तिहरुका कारण सहकारीप्रतिको बुझाई गलत भएको छ’, उनले भने । ‘केहिले धेरै राम्रो कार्य गरेका छन् । यसमा बचत कर्ताहरुले सर्तक हुन आवश्यक भएको छ ।’ उनले सहकारी संस्थाहरुलाई थप व्यवस्थित पार्नका लागि प्रदेश सरकार पनि ऐन ल्याउने तयारीमा रहेको बताए । यस सहकारीले किसानको पक्षमा काम गरेको भन्दै उनले प्रसंसा समेत गरे ।
कार्यक्रममा नीति तथा योजना संस्थाका प्रबन्धक नृपबहादुर खड्काले प्रस्तुत गरेका थिए भने लखा प्रतिवेदन चन्द्रा शाहीले गरेकी हुन् ।
संस्थाको ऋण लगानी ५७ करोड २८ लाख ७ हजार पुगेको छ । प्रबन्धक खड्काले दिएको जानकारी अनुसार संस्थाको जगेडा कोषमा १५ करोड ५३ लाख ४७ हजार पुगेको छ । यस्तै बचत २९ करोड ५५ लाख ६६ हजार रुपैयाँ रहेको छ । संस्थाको हालसम्म आम्दानी ९ करोड ५० लाख ६५ हजार २ सय ९० रुपैयाँ पुगेको छ भने खर्च ६ करोड ३३ लाख ३२ हजार ४ सय ७० रुपैयाँ छ । संस्थाको नाफा ३ करोड १७ लाख ३२ हजार ८ सय ३० रुपैयाँ भएको प्रबन्धक खड्काले जानकारी दिए । आर्थिक बर्ष २०८०\०८१ सम्मको शेयर पुँजि ६ करोड ९६ लाख ७३ हजार ६ सय रुपैयाँ शेयर पुँजि पुगेको छ ।
शनिबार भएको कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान समेत गरेको छ । ७ जना कृषिकलाई नगद सहित कदर पत्र द्घारा प्रमुख अतिथि मन्त्री थापाले सम्मान गरेका हुन् । शाखास्तरमा सबै भन्दा धेरै बचत गर्ने समुहहरुलाई समेत सम्मान गरेको हो । उनीहरुलाई पनि नगद तथा कदरपत्र दिएर सम्मान गरेको हो । कृषकहरुलाई कृषि औजारहरु समेत वितरण गरेको थियो । यस्तै ९ वटा अन्तर समुहलाई समेत नगद सहित सम्मान गरेको हो ।
संस्थाको अध्यक्ष वासमतीकुमारी रानाको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्तिय संस्था लिमिटेड अत्तरियाका प्रमुख हिक्मतबहादुर बम, साना किसान कृषि सहकारी संस्था लिमिटेड रैकवार विचुवा कञ्चनपुरका अध्यक्ष जयसिंह विष्ट, साना किसान कृषि सहकारी लिमिटेड मालाखेतीका मुख्य प्रबन्धक गोरखबहादुर खत्री, साना किसान कृषि सहकारी लिमिटेड चौमालाका अध्यक्ष लक्ष्मी थापा गुरुङ, प्रबन्धक कौशिल्या साउँद, रामारोशन साना किसान गदरियाका अध्यक्ष, प्रबन्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन लेखा सायक रामलाल रानाले गरेका हुन् ।
गोदावरी नगरपालिका गेटामा प्रधान कार्यालय रहेको यस संस्थाले धनगढी उपमहानगरपालिका वडा नं. ११ बेला, वडा नं. १४ उर्मा र वडा नं. १५ फूलबारी गरी ३ वटा स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । जसमार्फत सहकारीले उक्त क्षेत्रका सदस्यहरुलाई सहुलियत रुपमा सेवा प्रवाह गर्दै आईरहेको छ ।६ हजार १ सय ५९ शेयर सदस्य रहेको यस संस्थाको हाल ऋणी सदस्याहरु ३ हजार ९२ जना रहेका छन् ।