अत्तरिया, २० मंसिर : गोदावरी नगरपालिका वडा नं ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ ।
बिहीबार संस्थाले बृहत रक्तदान सँगै विविध कार्यक्रमको आयोजना गरी २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष भावना खड्काको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश आर्थिक मामिला राज्य मन्त्री प्रकाशबहादुर बम रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।
प्रमुख अतिथि आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सहकारीहरु तथा रेमिट्यान्सहरुले देशको आर्थिक मेरुदण्ड धानेको बताए । सीपमूलक तालिम प्रदान गर्ने, आयस्तर बढाउने, क्षमता अभिवृद्धि गर्ने लगायत कार्यमा सहकारी संस्था सदैव सक्रिय रहेको उनले बताए । ‘शाहुमहाजनको चर्को ब्याजदरको ऋणबाट अन्त्य गर्नको लागी सहकारी स्थापना भएको हो । सहज र सुलभ तरिकाले न्यून ब्याजमा ऋण प्राप्त गर्न साथै दैनिक जीवनस्तर उकास्न आत्मनिर्भर बनाएको सहकारीले हो’ भनेर भने । सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष भावना खड्काले गरेकी थिइन् भने आयव्यय तथा वित्तीय विवरण प्रस्तुत संस्थाकी कोषाध्यक्ष गुम्मी चौधरीले गरेकी थिइन् । संस्थाले हरेक वर्ष झै महिलाहरुलाई आत्मनिर्भर बनाउँदै विभिन्न कारोवारमा वृद्धि गरेको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भावना खड्काले २०५९ सालमा ४५ जना महिला सदस्यहरू मिलेर ४५ सय शेयर रकमबाट सुरु गरिएको संस्थाले गोदावरी नगरपालिकाको १२ वटै वडाहरूमा महिलाहरुलाई लक्षित गरी ३ हजार २ सय १ जना सदस्यहरू सँग कारोबार गर्दै आइरहेको साथै आर्थिक वर्ष ०८०÷०८१ सम्ममा आइपुग्दा ३ करोड १० लाख ६७ हजार ५०० शेयरपूँजी पुगेको बताईन् ।
२६ करोड ३८ लाख बढीको आर्थिक कारोबार५२ लाखको मुनाफासंस्थाद्वारा बृहत रक्तदान र सरसफाई कार्यक्रम आयोजना
उनले संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा २६ करोड ३८ लाख ८ हजार ८४१ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ भने उक्त कारोबार बाट संस्थाले ५२ लाख ३० हजार ५५० रुपैयाँ नाफा कमाउन सफल भएको बताईन् ।
यस्तै संस्थाले बचत तर्फ १८ करोड ६६ लाख ४० हजार ४११ रुपैयाँ निक्षेप संकलन गरेको र १९ करोड ६७ लाख ७४ हजार २६९ रुपैयाँ कर्जामा लगानी गरेको छ । यस्तै संस्थाको जगेडा कोषमा १ करोड ३० लाख ६७ हजार बराबरको रकम रहेको बताईन । अध्यक्ष खड्काले संस्थाले जग्गा भाडामा लिएर हल्दी खेती गरी शुद्ध बेसार बिक्री वितरण गर्न सुरु गरेको र सदस्यहरू बाट उत्पादित तोरी तेल संकलन गरी शुद्ध तोरीको तेल समेत बिक्री वितरण सुरु गरिएको बताए । यस्तै संस्थाले रासायनिक तथा जैविक मलको साथै बीउ विजनहरुपनी सदस्यहरूलाई सहुलियत दरमा उपलब्ध गराइरहेको बताईन् ।
सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना समेत गरेको हो आयोजीत रक्तदान कार्यक्रमबाट १३ पिन्ट रगत सङ्कलन भएको संस्थाकी अध्यक्ष भावना खड्काले जानकारी दिईन् । अध्यक्ष खड्काले सहकारीको साधारण सभालाई केही फरक रुपमा आयोजना गरी रक्तदान कार्यक्रमको अवधारणा सँगै रगत अभावका कारण कुनै पनि व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य राखेर संस्थाले रक्तदान कार्यक्रम आयोजना गरिएको बताईन् ।
रक्तदान कार्यक्रम स्याउले बजार व्यवस्थापन समितिको सहकार्यमा आयोजना गरिएको थियो । त्यस्तै खड्काले संस्थाले प्रत्येक महिनाको एक दिन सरसफाई कार्यक्रम आयोजना गर्ने निति लिएको बताईन । उनले उक्त नितिलाई अबलम्बन गर्न पहिलो पटक साधारण सभाको दिन सरसफाई कार्यक्रम आयोजना गरिएको बताईन । उनले वातावरणलाई स्वच्छ राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन । संस्थाका सदस्यहरुले जमुनानगर चोक देखी दुर्गा भवानी माध्यमिक विद्यालयसम्म सरसफाई गरेका थिए ।
सेभ हाउसलाई सहयोग
संस्थाकी अध्यक्ष भावना खड्काले साधारण सभाको अवसर पारेर अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसलाई आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेकी हुन् । असहाय बालबालिकाको साहारा रहेर बसेको सेभ हाउसलाई खाद्यान्न लगायत सामाग्री सेभ हाउसकी सञ्चालिका जानकी मालासिलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन् । साथै साधारण सभामा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।