अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले पारित गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ मथि छलफल भएको छ । धनगढीमा सामाजिक विकास मन्त्रालयको आयोजना तथा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष र नर्वेजियन राजदूतावासको सहकार्यमा सो नीतिका विषयमा छलफल गरिएको छ । ‘हामी सबैको प्रतिबद्धता ः लैङ्गिक अन्त्यको लागि एक्यबद्धता’ भन्ने नाराका साथ बिहिबार धनगढीमा सरोकार निकाय बसेर छलफल भएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्कीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा मन्त्री खड्काले सबैका सल्लाह अनुसार नै नीति ल्याएको हुँदा कार्यान्वयनमा पनि सबैको सहकार्य हुने विश्वस लिए । यस नीतिले गर्दा समाजमा विभिन्न रुढीवादीका नाममा हुने विभेद्को अन्त्य हुने उनले बताए । ‘जसरी नीति ल्याउनमा विभिन्न संघ संस्थाको सहयोग रहेको थियो । त्यसैगरी कार्यान्वयमा पनि सबैको साथ आवश्यक रहेको छ’, मन्त्री खड्काले भने ।
यस्तै कार्यक्रममा नीति कार्यान्वयनमा कर्मचारीहरुको बढी भूमिका रहेको कानुन मन्त्री शार्कीले बताए । उनले भने ‘कर्मचारीहरुलाई राजनीतिक दलहरुलाई डोर्याउने हुँदा नीति कार्यान्वयनमा पनि उहाँहरुको भूमिका बढी नै हुन्छ ।’ समाजमा हुने विभेद्मा केहि भए पनि सुधार भएको सुदूरपश्चिम प्रदेश न्यायधिवक्ता ठेकेन्द्र जोशीले बताए । प्रदेश सरकारले छोटो समयको गृहकार्यले ल्याएको नीतिले समाजमा हुने विभेद् रोक्न सहयोग पुग्ने बताए ।
नीति कार्यान्वयनमा संघ संस्थाहरुको भूमिका पनि उत्तिकै रहेको सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणी पाण्डेयले बताए । ‘संघ संस्था पनि सरकारको अंग हुन्’, उनले भने । ‘त्यसले गर्दा संघ संस्थाहरुले सरकारको काम हो भनेर उम्किने अधिकार छैन् ।’
नीति सान्दर्भक भए पनि कार्यविधि ल्याएर कार्यान्यनमा जोड दिनुपर्ने सुदूरपश्चिम प्रदेश नीति योजना आयोगका अधिकृत विरबहादुर धामीले बताए । नीति कार्यान्वयमा सबैले हात्तेमालो गर्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश सरकारले थुप्रै नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत नवराज उपाध्यायले बताए । मन्त्री र कर्मचारीहरु सक्रिय भएमा नीति कार्यान्वयनमा कुनै समस्या नहुने उनले उल्लेख गरे । बनेको नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने दलित अधिकार मञ्च कैलालीको अध्यक्ष सावित्रि घिमिरेले बताईन् । महिला तथा बालबालिकाहरुका लागि छुट्याएको रकम त्यसैमा खर्च गर्नुपर्ने उनले जोड दिईन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्कीले सुदूरपश्चिममा महिला हिंसाका बारेमा तथ्यांक प्रस्तुत गरे । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ भएका व्यवस्थाका बारेमा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरि र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयन विकास साझेदारहरुको भूमिका विषयक कार्यपत्र कृष्ण भट्टराईले प्रस्तुत गरेका हुन् । कार्यक्रममा स्वास्थ्य तालिम धनगढीका प्रमुख सुरेन्द्र कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित पाेस्टहरु