धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव

अत्तरिया : धनगढीमा आज (शनिबार) देखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव अगामी पुष २ गतेसम्म चल्ने छ । महोत्सवको १८ औँ संस्करण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
शुक्रबार आयोजक उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज कुँवरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवकोे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए । उनले भने ‘महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागी सम्भावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुनेछ भन्ने विश्वास लिएका छौँ ।’
संघले झण्डै ३ करोडको लगानीमा महोत्सव सञ्चालन गरिरहेको हो । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर ५ सय ३१ जति स्टलहरु रहने छन् ।
संघले महोत्सवबाट संकलन भएको रकमबाट रु. तीन लाख एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स टीमलाई दिने भएको छ । उनले महोत्सव सम्पन्न गर्न करिब रु.तीन करोड लाग्ने अनुमान गरेका छौँ ।
सुरक्षाको दृष्टिकोणले पूर्णरुपमा अत्याधुनिक सीसी क्यामराले निरीक्षण गरिने तथा निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बालवालिका र खेलमा रुची भएका दर्शकहरुको रुचीलाई प्राथमिकता दिइ महोत्सवमा नयाँ एक्युरेअम पनि रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।
टिकट अनलाइनमार्फत समेत काट्न सकिने र इन्टरनेट पार्टनर भायानेट रहेको जनाइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु. ५० सर्वसाधारणलाई रु. एक सय टिकटदर राखिएको तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ ।
महोत्सवमा १० वटा मागसहित प्रमुख अतिथिलाई १० किलोको माला लगाइने संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए । संघले विसं.२०६३ सालदेखि ‘सुदूरपश्चिम महोत्सव’को आयोजना गर्दै आएको छ । धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा आयोजना हुनेछ ।
नेपाल सरकारसँग सुदूरपश्चिमका विभिन्न २१ वटा माग राख्दै थालिएको शालिन महोत्सवी आन्दोलन १९ औँ वर्षमा पुग्यो । तर, अहिलेसम्म राखिएका मागहरू पूरा हुन सकेका छैनन् । हरेक वर्ष कैलाली उद्योग वाणिज्य संघले मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव सञ्चालन गर्छ । महोत्सवमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मलाई प्रमुख अतिथिमा निम्त्याइन्छ । तिनै बहालवालाले महोत्सव उद्घाटन सत्रमा मञ्चमा जायज माग भन्दै भाषण फलाक्छन् । तर, मञ्चबाट उत्रिएपछि ती मागको कुनै सुनुवाइ नै हुँदैन । १९ वर्ष अघि सुदूरपश्चिमका जनताले राखेका मागहरू अहिलेसम्म पनि पूरा हुन सकेका छैनन् ।
२०६३ सालमा सुदूरपश्चिमका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १९ औँ वर्ष पुगुन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ । आफूहरु हरेक वर्ष सुदूरपश्चिम बनाउने मागहरू राख्दै आएको बताउँदै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने,‘हामीले २१ बुँदे माग राख्दै सुरु गरेको महोत्सवले १९ वर्ष पार गरिसकेको छ । तर, अहिलेसम्म हामीले राखेका माग मध्ये ५ वटा मात्रै पूरा भएका छन् ।’
उद्योग वाणिज्य संघले १९ वर्ष अघि तत्कालीन सरकारलाई सुदूरपश्चिमको विकासका लागि भन्दै २१ बुँदे माग राख्दै शालिन आन्दोलनको सुरुवात गरिएको बताउँदै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘१९ वर्षको अवधिमा जम्मा ५ माग मात्रै सरकारले पूरा गरेको छ, १६ माग अझै बाँकी नै छन् ।’ तत्कालीन समयमा महोत्सव उद्घाटनका समयमा प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघले २१ किलोको माला लगाएर माग राखेको थियो । पछि माग घट्दै गएर १६ किलोको मालामा झरेको उनले बताए ।
‘हामीले सुदूरपश्चिमको विकासका प्रमुख २१ माग राखेर २०६३ सालमा प्रमुख अतिथिलाई पनि २१ किलोको माला पहि-याएर महोत्सव उद्घाटन गरेका थियौ,’ उनले भने, ‘जति माग सरकारले पूरा ग¥यो, त्यति माग कम भएको तौल बराबरको माला प्रमुख अतिथिलाई पहि¥याउने गरेका थियौँ ।’

मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने
महोत्सवमा सधैँ माग राखे पनि हुँदैनन् पूरा
महोत्सवमा हेलि टुर सेवा पनि

२१ वर्ष अघि राखेका माग मध्ये अप्टिक फाइबर विस्तार, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना, छैटौँ राष्ट्रिय खेलकुद आयोजना तथा रंगशाला निर्माण, आइसियु स्थापना र दुग्ध प्रशोधन केन्द्र स्थापनासहितका ५ माग पूरा भइसकेका छ भने ६ वटा माग आंशिक सम्पन्न हुन थालेको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले बताए । २१ बुँदे माग मध्ये आंशिक रुपमा भएका मागहरूमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण चरणमा रहेको छ । यस्तै प्रदेश सभा सम्मेलन गृह स्थापना भइसकेको छ । तर, राजनीतिक खिचातानीका कारण प्रयोगमा आउन सकेको छैन । दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य सुस्त गतिमा रहेको छ ।
प्रदेश स्तरीय पर्यटन केन्द्र स्थापना भए पनि काम गरेको छैन । त्यसैमा खप्तड, घोडाघोडी, शुक्लाफाँटा जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने भनिए पनि पूर्वाधार बनाइएकै छैन । गेटा विमानस्थल कालोपत्रे माग गरिएको थियो । कैलाली उद्योग वाणिज्य संघले १ रुपैयाँ संकलन गरेर कालोपत्रे निर्माणको अभियान थालेको थियो । धावनमार्ग कालोपत्रे भयो ।
तर, गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न माग गरिएको थियो । उक्त मागको सुनुवाइ नै नभएको महासचिव बिष्ट बताउँछन् । यस्तै चिसापानीदेखि गड्डाचौकीसम्म वनजंगल नरहेका पुराना बजारको जग्गा दर्ता गरिनुपर्ने माग रहे पनि जग्गा दर्ताका लागि कागजात माग भए पनि दर्ता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
कैलाली उद्योग वाणिज्य संघले संघीय र प्रदेश सरकार समक्ष राखेका १० वटा मागको भने अहिलेसम्म सुनुवाइ नै भएको छैन । सुनुवाइ नभएका माग मध्ये गौरीफन्टा नाकालाई सुविधा सम्पन्न अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्ने, प्रदर्शनी स्थलको निर्माण गरिनुपर्ने, सुदूरपश्चिममा उद्योग स्थापनार्थ प्रोत्साहन स्वरूप १० वर्ष कर निःशुल्क जोन घोषणा गरिनुपर्ने, भौतिक संरचना पूरा भइसकेको गेटा मेडिकल विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने, सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खुलाउनु पर्ने, पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, कृषि विश्वविद्यालय स्थापना गरिनुपर्ने, प्रदेश सांस्कृतिक संग्रहालय स्थापना गरिनुपर्ने, सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरिनुपर्ने र सूचना प्रविधि क्षेत्र (आइटी पार्क) स्थापना गरिनुपर्ने रहेका छन् ।
‘यी १० वटा मागहरू संघीय र प्रदेश सरकारसँग सम्बन्धित रहे पनि दुवै तहका सरकारले कुनै चासो दिएको छैन,’ महासचिव बिष्टले भने, ‘हामी सधैं उही माग राख्छौँ, पूरै हुँदैनन् ।’ यसअघिका महोत्सवहरूमा राष्ट्रपति रामवरण यादव, नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, भीमबहादुर रावललगायतलाई प्रमुख अतिथि बनाइएको थियो । प्रमुख अतिथिलाई सुदूरपश्चिमका २१ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउनुका साथै २१ किलोकै फूलको माला पहि¥याएर विकासका लागि माग गरिएको थियो । ‘नेताहरुलाई प्रमुख अतिथि बनाउँदै हरेक वर्ष उही माग राख्छौँ, मञ्चमा बोल्दा माग पूरा गर्छौँ भन्छन्,’ बिष्टले भने,‘तर पनि तिनै मागहरू नेताहरुले अहिलेसम्म पूरा गरिदिएकै छैनन् ।’
महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ । सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलोकनको योजना सहित हेलिटुर सेवा सञ्चालाका लागि तयारी अघि बढाईएको कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताए ।
उनका अनुसार खप्तड, रामारोसन, बडिमालिका लगायतका क्षेत्रको अवलोकन गर्ने प्याकेज सहित हेलिटुर सेवा सञ्चालन गर्ने र कैलाली कञ्चनपुरमा सिटि टुर हेलि सेवा सञ्चालन गरिने छ । महोत्सव मार्फत निजि क्षेत्रले सुदूरपश्चिमको विकासका लागि राज्यलाई दवाव दिंदै आएको सल्लाहकार भट्ट बताउन्छन् । सुदूरपश्चिमको विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटि जोड्ने सडक सञ्जालको विस्तार र स्तरिय सडक तथा अन्तराष्ट्रीय स्तरको हवाई सेवा सञ्चालन हुनु अपरिहार्य रहेको उनको भनाई छ ।
नीजि क्षेत्रले सरकारलाई चिन र भारत संगको व्यापारिक क्षमता बढाउन स्तरिय सडक सञ्जाल निर्माणका लागि जोड दिय पनि सरकारले त्यता तर्फ ध्यान दिन नसकेको उनको गुनासो छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.