धनगढीमा ‘सुदूरपश्चिम महोत्सव’ सुरु

अत्तरिया : धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् । मन्त्री भण्डारीले नेपालमा लगानी भित्रियाउन निजी क्षेत्रसँग सरकार सहकार्य गरेर अघि बढ्ने कुरा भइरहेको बताए ।
‘सुदूरपश्चिममा सम्भावना धेरै छन’ उनले भने, ‘राजनीतिक अस्थिरताका कारण सम्भावना नजिक पुग्न सकिरहेका थिएनौँ ।’ राजनीतिक अस्थिरता अन्त्य गर्न र सम्भावनाको नजिक पुग्न सरकार सञ्चालनका लागि कांग्रेस एमालेबीच गठबन्धन भएको उनले बताए । सुदूरपश्चिमको विकासका लागि र आर्थिक रुपान्तरणका लागि यो महोत्सव कोसेढुङ्गा सावित हुने उनले बताए । ‘जनताको निराशालाई आशामा बदल्ने कोशिस हामी गरिहेको छाँ’ै उनले भने ‘प्रतिफल छिट्टै जनताले पाउने गरी काम भइरहेको छ ।’
सो अवसरमा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीलाई १० बुँदे मागपत्रसमेत बुझाएको हो । पश्चिम सेती जलविद्युत आयोजना र सुक्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको महासचिव ओम बिष्टले बताए । २०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सवको सुरुवात गरिएको थियो । अझै १० माग पूरा नभएकाले यसपटक १० बुँदे मागपत्र बुझाइएको उनले बताएका हुन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट निर्धारण गरिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायत पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।
महोत्सवमा पर्यटन, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, उद्योग, समाज सेवामा योगदान पु¥याएका व्यक्तित्वहरुलाई समेत सम्मान गरेको थियो । उद्घाटन समारोहमा सुदूरपश्चिमको संस्कृति झल्किने प्रस्तुति प्रस्तुत गरिएका थिए । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.